चितवन विशेष
भरतपुरका मुख्य शहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालनमा आयो
०

चितवन, मंसिर १०–
जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो ।
पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच थिचेर संयुक्त रूपमा ट्राफिक बत्ती सञ्चालनमा आएको घोषणा गर्नुभयो । नारायणगढको पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक बत्ती जडान गरिएको छ ।

सो अवसरमा सडक डिभिजन कार्यालय चितवनका प्रमुख इञ्जिनियर अमितकुमार शर्मा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक अनिल थापाले ट्राफिक बत्ती र सडक सुरक्षाका बारेमा जानकारी दिनुभएको थियो ।
सबैभन्दा धेरै ट्राफिक लाइट राखिएको भरतपुर–१० का अध्यक्ष परमेश्वर खनालले भरतपुर महानगरपालिकाको आग्रहमा सडक विभागमार्फत बत्ती जडान गरिएको जानकारी दिँदै यसको उपयोग गरी ट्राफिक व्यवस्थापनमा जुट्नुपर्ने बताउनुभयो । विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले बत्ती जडान गरेको हो ।
भरतपुर महानगरपालिकाका छ चोकमा बत्ती राख्नका लागि विसं २०८२ साल साउन २० मा मूल्य अभिवृद्धि करसहित रु एक करोड २३ लाख १४ हजार २६० ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०८२ चैत २० गतेसम्म काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो । निर्माण व्यवसायी कम्पनीले ढिला गरी लाईट जडान गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



















