चितवन विशेष

सेन्ट्रल मोडल कलेजका बीएचएम तथा बीआईटीएम विद्यार्थीको स्वागत कार्यक्रम पोखरा ग्रान्ड होटलमा हुने

०
Banner

भरतपुर,मंसिर १०-

सेन्ट्रल मोडल कलेज, भरतपुरमा बीएचएम तथा बीआईटीएम कार्यक्रमको तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले प्रथम सेमेस्टरका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्न पोखराको पाँचतारे होटल पोखरा ग्रान्डमा दुईदिने विशेष स्वागत कार्यक्रम आयोजना गर्ने भएका छन्।

आगामी २०८३ साल मंसिर ११ र १२ गते आयोजना हुने कार्यक्रममा विद्यार्थीहरूले शैक्षिक तथा मनोरञ्जनात्मक गतिविधिसँगै होटल उद्योगको प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर पाउनेछन्। कार्यक्रमअन्तर्गत होटलमा एक रातको बसाइ, होटलका विभिन्न विभागहरूको अवलोकन, हाउसकिपिङ विभाग, लाउन्ड्री, फ्रन्ट डेस्क तथा होटल सञ्चालनका अन्य व्यावहारिक पक्षबारे जानकारी लिने व्यवस्था गरिएको छ। साथै, ककटेल तथा मकटेलसम्बन्धी प्रस्तुति र अभ्यासमार्फत आतिथ्य सत्कार क्षेत्रका व्यावहारिक सीपबारे समेत विद्यार्थीहरूलाई परिचित गराइनेछ।

कार्यक्रमका सभापति तथा बीएचएम तेस्रो सेमेस्टरका विद्यार्थी आशिम सापकोटाले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै यस कार्यक्रमले वरिष्ठ र कनिष्ठ विद्यार्थीबीच आत्मीयता, मित्रता र सहकार्यको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

कलेजका प्रिन्सिपल डा. टीका राम चालिसेले बीएचएम अध्ययन केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहार, सीप, अनुशासन र व्यावसायिक दक्षतासँग जोडिएको विषय भएको बताउनुभएको छ। उहाँका अनुसार होटल उद्योगमा सफल हुन अतिथि सत्कार, सञ्चार, नेतृत्व, व्यवस्थापन र सेवाको गुणस्तर बुझ्न आवश्यक छ। पोखरा ग्रान्डजस्तो पाँचतारे होटलको प्रत्यक्ष अवलोकन र विभागीय अनुभवले विद्यार्थीहरूलाई कक्षाकोठामा सिकेको ज्ञान वास्तविक कार्यक्षेत्रमा कसरी प्रयोग हुन्छ भन्ने बुझ्न सहयोग पुर्‍याउनेछ। उहाँले विद्यार्थीहरूलाई भविष्यमा सक्षम होटल व्यवस्थापक, उद्यमी तथा अन्तर्राष्ट्रिय आतिथ्य सत्कार क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्ने कलेजको लक्ष्य रहेको बताउनुभएको छ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई स्वागतसँगै सिकाइ, अनुभव र व्यावसायिक भविष्यको नयाँ यात्रामा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>