Breaking News
‘एनपिएल चौथो संस्करण चितवनमा आयोजना गर्न सकिन्छ’

चितवन,मङ्सिर ९-
नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ । रङ्गशालाको पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले ‘फ्लर्ड लाइट’ जडानको काम अघि बढ्न सकेमा झण्डै एक वर्षपछि हुने एनपिएल खेल्न सकिने भएको हो ।
एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसक्नुभएको छ । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आठ वटै क्लबका सञ्चालकसँग यस विषयमा छलफल अघि बढाउनुभएको छ । छलफलमा सहभागी चितवन राइनोजका अध्यक्ष आयुस न्यौपानेले पूर्वाधार विकासमन्त्री अत्यन्तै सकारात्मक रहनुभएकाले चौथो एनपिएल चितवनमा हुनेमा आफू आशावादी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूसँगको छलफलमा चितवन र मूलपानीमा समेत अर्को वर्ष खेल खेलाउन सकिने विषयमा छलफल भएको छ ।”
रङ्गशालाको निर्माणको काम केही महिनामा सकिने भएकाले सङ्घीय सरकारले फ्लर्ड लाइड र प्राविधिक कामहरु गरेमा खेल खेलाउन समस्या नहुने देखिएको उहाँले बताउनुभयो ।
चितवनमा जनकपुर, लुम्बिनी, पोखराका क्लबका लागि नजिक र सहज हुने अध्यक्ष न्यौपाने बताउनुहुन्छ । प्रधानमन्त्री शाहले चितवन राइनोजको होम रङ्गशाला गौतमबुद्ध रङ्गशालालाई तोक्नुभएको छ ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी अबको चार महिनाभित्रमा रङ्गशालाको पूर्वाधारको काम सकिने बताउनुहुन्छ । उहाँका अनुसार रङ्गशालाको ६८ प्रतिशत काम सम्पन्न भइसकेको छ । दुईवटै ‘टावर स्ट्रक्चर’को काम एकिएको छ । फिनिसिङको काम हुँदैछ । प्यारापिटको बस्ने ठाउँको काम सकिएर प्यारापिट पछाडिको ढलानको काम गर्ने तयारी गरिएको छ । समग्रमा प्यारापिट ८० प्रतिशत सम्पन्न भएको कार्यवाहक प्रमुख अधिकारी बताउनुहुन्छ ।
ग्राउण्डको सब सर्फेसको ड्रिनेजको पाइप राख्ने काम सुरु भएको भन्दै उहाँले त्यसपछि गिट्टी राखेर पिचको काम अघि बढाइने जानकारी दिनुभयो । ड्रिनेजको र कम्पाउण्डको काम भइसकेको छ । उहाँका अनुसार पहिलो चरणको यो काम सकिँदै गर्दा १५ हजार जना बसेर क्रिकेट हेर्न सक्ने छन् । दोस्रो चरणको क्रमशः काम गर्ने योजना छ । दोस्रो चरणको काम सकिँदा ३० हजार जना क्षमताको रङ्गशाला बन्ने छ ।
विसं २०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिका बीच सम्झौता भई प्रारम्भिक काम २०७६ मङ्सिरदेखि सुरु भएको थियो । फाउण्डेसनले आर्थिक स्रोत जुटाउन नसकेपछि २०७८ सालबाट निर्माण रोकिएको थियो । फाउण्डेशनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेपछि रङ्गशालाको पहिलो चरणको कामका लागि २०८१ साल असार २४ गते हिमालयन जेभिलाई भरतपुर महानगरपालिकाले ठेक्का दिएको थियो । ३० महिनाको समय दिएर भएको ठेक्का सम्झौताको मिति यही पुस २७ गते सकिँदै छ । कार्यवाहक प्रमुख अधिकारी त्यसको थप दुई महिनामा काम सक्ने अनुमान गर्नुहुन्छ ।
सुरुको सम्झौता रकम रु ७८ करोड ५० लाख ९१ हजार रहेकोमा हाल बढेर रु ८६ करोड २४ लाख ८४ हजार पुगेको छ । दोस्रो चरणको समेत काम सम्पन्न गर्न फ्लर्ड लाइटबाहेक सिभिल कामका लागि रु दुई अर्ब हाराहारी लाग्ने अनुमान रहेको कार्यवाहक प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले थप पूर्वाधार र फ्लर्ड लाइट राखेमा आउँदो एनपिएल यही खेल्न सकिन्छ ।” भौगोलिक हिसाबले उपयुक्त ठाउँ भएको भन्दै उहाँले छिमेकी देशहरु भारत र पाकिस्तानको समेत खेल यही गर्न सकिने बताउनुभयो ।
बागमती प्रदेशका क्रिकेट निर्देशक अनिल अधिकारीले एनपिएलको चौथो संस्करण भरतपुरमा गर्नुपर्ने बताउनुभयो । सरकार स्वयं सकारात्मक रहेकाले चौथो संस्करण यही हुनेमा आफू ढुक्क रहेको उहाँको भनाइ छ । त्रिवि क्रिकेट रङ्गशालाको क्षमता १० हजार मात्रै भएको भन्दै उहाँले यहाँको पहिलो चरणको काम सकिँदै गर्दा १५ हजार र पछि ३० हजार दर्शक अट्ने भएकाले ठाउँ उपयुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिवि रङ्गशालामा नौ महिनामा सिट र फ्लर्ड लाइट राख्न सक्यौँ, यहाँ हामीसँग ११ महिना छ, किन सकिँदैन ?” अधिकारीले यहाँ राष्ट्रिय र अन्तरराष्ट्रिय खेल खेलाउन सकिने बताउनुभयो । त्रिविमा सात वटा पिच छन् भने यहाँ पाँच वटा पिच बनाउन सकिने छ ।
तराईका जिल्लाका खेलाडीका लागि भरतपुर उपयुक्त हुने अधिकारी बताउनुहुन्छ । चितवन जिल्ला क्रिकेट सङ्घका सचिव सुरज ज्ञवालीले मापदण्डअनुसार रङ्गशाला बनेकाले एनपिएलको चौथो संस्करण यहाँ गर्न सबैको साथ र सहयोग चाहिने बताउनुभयो । उहाँले भन्नुभयो, “एनपिएलको चौथो संस्करण गर्न यहाँ सकिन्छ, सरकार सकारात्मक रहेकाले हुन्छ भन्नेमा हामी ढुक्क छौँ ।” छिमेकी जिल्लामा रहेका केही क्लबको खेल यहाँ गर्न सकिने उहाँले बताउनुभयो । भरतपुरबाट पोखरा, लुम्बिनी, जनकपुरजस्ता क्लबका लागि दूरीका हिसाबले चितवन सहज छ । खेलाडी र दर्शकका लागि बस्न होटलहरु सहज छन् भने खेल नहुँदा घुम्नका लागि चितवन राष्ट्रिय निकुञ्जलगायतका पर्यटकीयस्थल जिल्लामा रहेका छन् । र
























