Breaking News
कृषि बालीको उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

काठमाडौँ, मङ्सिर ९-
गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चार दशमलव ४३ प्रतिशत आर्थिक वृद्धि भएकामा गत आर्थिक वर्षमा वृद्धिदर घटेको हो ।
नेपाल राष्ट्र बैंकको उक्त वार्षिक प्रतिवेदनले गत आर्थिक वर्षमा नेपालको समग्र आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा घटेको, औद्योगिक क्षेत्रको क्षमता उपयोग कमजोर रहेको तथा आयात र निर्यात दुवैमा वृद्धि भएको देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा उपभोक्ताको मूल्यमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशत र प्रचलित मूल्यमा तीन दशमलव ८६ प्रतिशत रहने अनुमान गरिएको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४ दशमलव ५ प्रतिशत, १३ दशमलव ७ प्रतिशत र ६१ दशमलव ८ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको ३६ दशमलव ७१ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको चार दशमलव दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्ता बालीले ढाकेको क्षेत्रफलसमेत एक दशमलव ५६ प्रतिशतले घटेको छ । तरकारी उत्पादनमा एक दशमलव ६७ प्रतिशत र फलफूल उत्पादनमा शून्य दशमलव २१ प्रतिशतले वृद्धि भएको छ भने मसला उत्पादन एक दशमलव ३४ प्रतिशतले घटेको छ ।
पशुजन्य उत्पादनतर्फ दूध उत्पादन तीन दशमलव ६४ प्रतिशतले बढेको छ । तर मासु उत्पादन शून्य दशमलव ०९ प्रतिशत र अण्डा उत्पादन पाँच दशमलव ७७ प्रतिशतले घटेको छ । वनजन्य उत्पादनतर्फ दाउरा उत्पादनमा १९ दशमलव ७४ प्रतिशत र औषधिजन्य वस्तुको उत्पादनमा ६५ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ भने काठ उत्पादन एक दशमलव ४० प्रतिशतले घटेको छ ।
औद्योगिक क्षमता उपयोग घट्यो
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वर्षमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८ दशमलव १३ प्रतिशतमा सीमित भएको छ । आर्थिक वर्ष २०८१र८२ मा यस्तो क्षमता उपयोग ५१ दशमलव ४३ प्रतिशत रहेको थियो ।
यसैगरी, २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा ३१ दशमलव ०२ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार उद्योगको क्षमता उपयोगमा आएको गिरावटले औद्योगिक उत्पादनका लागि उपलब्ध क्षमताको तुलनामा वास्तविक उत्पादन कम रहेको देखाएको छ ।
पर्यटक आगमन र यातायात दर्तामा वृद्धि
सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या शून्य दशमलव ९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ ।
गत आर्थिक वर्षमा घर तथा भवनको नक्सापास सङ्ख्या दुई दशमलव ९८ प्रतिशतले र घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त राजस्व शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । यद्यपि यातायातका साधन दर्ताको सङ्ख्यामा १६ दशमलव १५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाहमा भने वृद्धि भएको छ । २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ दशमलव ७२ प्रतिशतले र कर्जा प्रवाह छ दशमलव ५५ प्रतिशतले बढेको छ । समीक्षा अवधिको अन्त्यमा औसत कर्जा–निक्षेप अनुपात ७२ दशमलव ३७ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहेको छ । कुल निक्षेपमा बागमती प्रदेशको हिस्सा ६४ दशमलव ०५ प्रतिशत र कुल कर्जामा ६० दशमलव ९१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।
गत आर्थिक वर्ष २०८२र८३ मा मुलुकमा २० हजार ६५७ किलोमिटर कालोपत्रे सडक, नौ हजार ३१६ किलोमिटर ग्राभेल सडक, नौ हजार ७०१ किलोमिटर कच्ची तथा नयाँ सडक र १५९ किलोमिटर रिजिड पेभमेन्ट निर्माण भएको छ ।
निर्यातभन्दा आयातको वृद्धि उच्च
गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा निर्यात र आयात दुवै बढेका छन् । कुल वस्तु निर्यात १३ दशमलव ८१ प्रतिशतले वृद्धि भई रु तीन खर्ब १५ अर्ब २९ करोड पुगेको छ । त्यस्तै, कुल वस्तु आयात १६ दशमलव २० प्रतिशतले बढेर रु २० खर्ब ९६ अर्ब ३८ करोड पुगेको छ । निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ९पुनः श्रम स्वीकृतिसहित० गत आर्थिक वर्षमा सात लाख ९२ हजार १८७ रहेको छ । प्रदेशगत रूपमा वैदेशिक रोजगारीमा जानेमध्ये मधेस प्रदेशको हिस्सा सबैभन्दा बढी २२ दशमलव ६० प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम तीन दशमलव ८५ प्रतिशत रहेको छ ।
सङ्घीय बजेट खर्च संशोधित अनुमानमा ९३ दशमलव ७१ प्रतिशत
गत आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरेको थियो । बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधन गरी कुल बजेट रु १६ खर्ब ८८ अर्ब ३३ करोड कायम गरिएको थियो । संशोधित बजेटमध्ये आर्थिक वर्षको अन्त्यसम्ममा रु १५ खर्ब ८२ अर्ब १७ करोड खर्च भएको छ । यो संशोधित बजेटको ९३ दशमलव ७१ प्रतिशत हो ।
त्यस्तै, गत आर्थिक वर्षमा सातवटै प्रदेशको कुल विनियोजित बजेट रु दुई खर्ब ८७ अर्ब ७१ करोड रहेको थियो । उक्त बजेटमध्ये चालु खर्चतर्फ रु ८६ अर्ब चार करोड अर्थात् ३० दशमलव ०३ प्रतिशत, पुँजीगत खर्चतर्फ रु एक खर्ब ७१ अर्ब १७ करोड अर्थात् ५९ दशमलव ४९ प्रतिशत विनियोजन गरिएको थियो । यसैगरी, वित्तीय व्यवस्थातर्फ रु ९८ करोड अर्थात् शून्य दशमलव ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ रु २९ अर्ब १६ करोड अर्थात् १० दशमलव १४ प्रतिशत बजेट विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ । रासस























