देश/प्रदेश
‘हिमालय संरक्षण नेपालका लागि मात्र होइन, दक्षिण एसियाको भविष्यका लागि’

न्युयोर्क, असोज १०-
नेपालको हिमाली क्षेत्रमा बढ्दो जलवायु संकट, जलवायु न्याय र स्वच्छ ऊर्जा उत्पादनको सम्भावना न्यूयोर्कमा आयोजित जलवायु सप्ताहको एक कार्यक्रममा उठाइएको छ । फोसिल फ्युल नन–प्रोलिफरेसन ट्रिटी इनिसिएटिभले आयोजना गरेको कार्यक्रममा नेपालका सञ्चार उद्यमी तथा जलवायु परिवर्तन र स्वच्छ ऊर्जाकी अभियन्ता समृद्धि ज्ञवालीले हिमालयमा देखिएका जलवायुजन्य जोखिमसँगै नेपालले दक्षिण एसियाको स्वच्छ ऊर्जा आवश्यकतामा योगदान गर्न सक्ने सम्भावनाबारे धारणा राखिन् ।
ज्ञवालीले गत अगस्टमा नेपालमा आएको बाढीका क्रममा त्रिशूली नदीमा पानीको सतह तीव्र रूपमा बढेको घटनालाई हिमाली क्षेत्रमा बढिरहेको जलवायु जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरिन् । उनले नेपालको अनुभवलाई स्विट्जरल्यान्डको ब्लाटेनमा भएको हिमतालरहिमनदीजन्य विपत्तिसँग तुलना गर्दै जोखिमको पूर्वसूचना, निगरानी, स्रोतसाधन, सीप र प्रविधिको पहुँचमा रहेको अन्तरले विपत्तिको प्रभाव फरक पार्ने बताइन् । ‘एउटै भौतिक विज्ञान हो, एउटै तापक्रम बढिरहेको संसार हो। फरक यति हो, हामीसँग १० दिनको पूर्वसूचना, निगरानी, स्रोतसाधन, सीप र प्रविधि छैन,’ ज्ञवालीले भनिन् ।
उनले जलवायु परिवर्तनको असरबारे चर्चा गर्दै नेपाललाई केवल जोखिममा परेको मुलुकका रूपमा हेर्न नहुने धारणा राखिन्। जीवाश्म इन्धनको प्रयोग घटाउँदैमा आर्थिक विकास रोक्नुपर्ने नभई विकासको ऊर्जा स्रोत नै परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । ‘जीवाश्म इन्धन उत्खनन अन्त्य गर्नु भनेको विकास अन्त्य गर्नु होइन। विकास र जलवायु कार्यबीच कुनै एक रोज्नुपर्ने अवस्था पनि होइन,’ उनले भनिन्, ‘यसको अर्थ विकासका लागि फरक इन्जिन रोज्नु हो।’
ज्ञवालीले नेपालमा नवीकरणीय ऊर्जा, जलवायु अनुकूल पूर्वाधार तथा क्षेत्रीय ऊर्जा कनेक्टिभिटीमा अन्तर्राष्ट्रिय लगानी बढाउनुपर्नेमा जोड दिइन् । दक्षिण एसियामा बढ्दो ऊर्जा माग पूरा गर्न नेपालले स्वच्छ ऊर्जा उत्पादन र आपूर्तिको महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो । ‘हिमालयको संरक्षण नेपालप्रतिको दया होइन। यो दक्षिण एसियाको भविष्यमा गरिएको लगानी हो,’ उनले भनिन्।
ज्ञवालीले नेपाल स्वच्छ ऊर्जाको भविष्यको हिस्सा बन्न तयार रहेको बताउँदै जलवायु संकटबाट सबैभन्दा बढी जोखिममा रहेका मुलुकलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग र लगानीमार्फत सुरक्षित बनाउने दायित्व लिनुपर्ने बताइन् । ‘हामीले एउटा देशले सही काम गर्दा पनि सुरक्षित हुन नसक्ने अवस्था देखाइसकेका छौं। अब एउटा देशले सही काम गर्दा संसारले के गर्न सक्छ, त्यो देखाउने पालो विश्वको हो,’ उनले भनिन्।
कार्यक्रममा जीवाश्म इन्धनमा आधारित ऊर्जाको विस्तार रोक्ने, विद्यमान उत्पादनलाई न्यायपूर्ण ढंगले क्रमशः घटाउने तथा प्रभावित समुदाय र मुलुकका लागि न्यायपूर्ण संक्रमण सुनिश्चित गर्न आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो।
कार्यक्रममा लेनापे नेसनकी प्रमुख लेना, फोसिल फ्युल नन–प्रोलिफरेसन ट्रिटी इनिसिएटिभकी अध्यक्ष तथा जलवायु अभियन्ता ट्जेपोराह बर्मन, केन्याका नवीकरणीय ऊर्जा सचिव डा। इन्जिनियर इसाक किभा, घानाका जलवायु परिवर्तन तथा दिगोपनासम्बन्धी राज्यमन्त्री इसिफु सेइदु र सन् २०२६ की गोल्डम्यान वातावरणीय पुरस्कार विजेता युवेलिस मोरालेस ब्लान्कोलगायत सहभागी थिए ।























