Breaking News

चितवनको क्यान्सर अस्पतालमा भेटेरीनरी डाक्टर बने सञ्चालक समिति सदस्य, झुटो स्वघोषणा गरेर लिए नियुक्ति

०
Banner

भरतपुर, असोज ९–

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा भेटेरीनरि डाक्टरले नियुक्ति लिएका छन् । रास्वपाको प्रथम महाधिवेशन प्रतिनिधि समेत रहेका डा डिल्लीराम भण्डारीलाइ अस्पतालको सदस्यमा स्वास्थ्य मन्त्रालयले नियुक्ति दिएको हो ।

नयाँ सरकार आएपछि बेथितिको अन्त्य गर्ने र दलिय राजनीतिकरण अस्पतालमा गर्न नहुने भन्दै स्वघोषणा पत्र समेत बनाइएको थियो । जसमा सबै आवेदकहरूलाइ हस्ताक्षर गराइएको थियो । तर त्यसलाइ कागजको खोस्टो मात्रै बनाइएको छ । स्वास्थ्य मन्त्रीको सल्लाहकार मनोहर प्रधानको गृहजिल्लामा भद्रगोल रहेको क्यान्सर अस्पताललाइ सुधार गर्नुको साटो पहुँच र शक्तिको भरमा नियुक्ति दिलाइएको छ ।

रास्वपाका नेता भण्डारी पशु चिकित्सक हुन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ विपरित सदस्यहरु नियुक्त भएपछि प्रतिस्पर्धीहरुले असन्तुष्टी जनाएका छन् ।

खुला प्रतिस्पर्धा, सुशासन र योग्यता प्रणालीको दाबीसहित सञ्चालन गरिएको भनिएको छनोट प्रक्रियामा सत्तारुढ दलका संगठित प्रतिनिधि र स्वास्थ्य मन्त्रीका सल्लाहकारका पारिवारिक सदस्यलाई नियुक्त गरिएको उनीहरुको आरोप छ ।

स्वास्थ्य मन्त्रालयद्वारा भदौ २४ गते अन्तर्वार्तामा सहभागी हुनुपूर्व सम्पूर्ण उम्मेदवारहरूलाई ‘म कुनै पनि राजनीतिक दलको सदस्य वा जिम्मेवारीमा आबद्ध छैन’ भनी अनिवार्य रूपमा स्वघोषणा पत्रमा हस्ताक्षर गराइएको थियो। रास्वपा भरतपुर महानगर समितिले असोज ३ र ४ गते आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पनि भण्डारी सहभागी थिए । कृषि क्याम्पसमा प्रोफेसरका रुपमा केहि समय काम गरेको भण्डारीले स्वीकार पनि गरे ।

छनोटमा पारिएका भण्डारी रास्वपाका सक्रिय एवं संगठित नेता रहेको आधिकारिक दस्ताबेजले देखाएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगद्वारा प्रकाशित ‘राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली’ अनुसार डा भण्डारी बागमती प्रदेश, चितवनको पालिकाबाट आधिकारिक महाधिवेशन प्रतिनिधि हुन्।

राजनीतिक दलको महाधिवेशन प्रतिनिधि भई सरकारी नियुक्ति हत्याउन राज्यसमक्ष ‘कुनै दलमा नरहेको’ भनी झुटो स्वघोषणा पेस गर्नु कानुन विपरित हो । अझ विडम्बना त के छ भने, मानव क्यान्सर अस्पतालको नीति निर्माण तहमा क्यान्सर रोग विशेषज्ञहरू प्रतिस्पर्धामा हुँदाहुँदै पशु चिकित्सकलाई राजनीतिक कोटा र झुटो स्वघोषणाको आडमा छनोट गरिएको छ।

अन्तर्वार्तामा दशकौँदेखि क्यान्सर निदान र शल्यक्रियामा खटिएका वरिष्ठ अंकोलोजिस्ट, जटिल क्यान्सर केयर सम्हालेका नर्सिङ अधिकृतहरू तथा अन्तर्राष्ट्रिय अनुभवप्राप्त जनस्वास्थ्य विज्ञहरू सामेल थिए।

झुटो स्वघोषणा दिने डा डिल्लीराम भण्डारीको विवादास्पद छनोट तत्काल बदर गर्न प्रतिस्पर्धीहरुले माग गरेका छन् । त्यस्तै, अन्तर्वार्तामा उम्मेदवारहरूले पेस गरेका सक्कल स्वघोषणा पत्र, प्रस्तुतीकरणको अंकतालिका र छनोट समितिको निर्णय फाइल सार्वजनिक गर्न पनि उनीहरुले माग गरेका छन् ।

राज्यलाई ढाँटेर झुटो विवरण पेस गर्ने व्यक्ति र मिलेमतोमा संलग्न छनोट समितिका पदाधिकारीहरूउपर भ्रष्टाचार निवारण ऐन तथा प्रचलित कानुनबमोजिम कारबाही गरिनुपर्ने उनीहरुको भनाई छ । अन्तर्वार्तामा १६ जना सहभागी भएकामा ६ जनालाई सदस्यमा नियुक्त गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>