अपराध
कञ्चनपुरमा पूर्व-शिक्षकको हत्या गरी फरार रहेका एकजना पक्राउ

काठमाडौं, जेठ ३-
कञ्चनपुरमा पूर्व-शिक्षकको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति ८ बजे बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर बस्ने ६४ वर्षीय लक्षि चन्दको हत्या गरी फरार रहेका गाउँपालिका वडा नम्बर ४ घर भई बेलौरी-६ स्थित आफन्तको घरमा बस्ने ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डिएसपी उमेश जोशीले भण्डारी गएराति मादक पदार्थ सेवन गरी हिँडिरहेका थिए। त्यसैबेला बाटोमा पूर्वशिक्षक समेत रहेका चन्दसँग उनको भेट भएको थियो। जसक्रममा विवाद हुन पुगेको बताए । डिएसपी जोशीले भने, ‘कारण केही पनि छैन। भण्डारीले मापसे गरेका थिए। बाटोमा भेट भएपछि त्यहाँ विवाद भएको देखिन्छ । केहीबेर दुई जनाबीच लछारपछार भयो।’
विवादकै बीच भण्डारीले भुइँमा रहेको ढुंगा टिपेर चन्दको निधारमा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट चन्द गम्भीर घाइते भएका थिए। भण्डारी भने घटनास्थलबाट भागे।
स्थानीयले चन्दलाई निसर्ग अस्पताल धनगढीमा पुर्याएका थिए। राति पौने १० बजेतिर चन्दलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट अनुसन्धान अधिकृतको टोली खटिएको थियो। त्यस्तै, अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली झिकाइएको थियो। सोही तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरी आरोपीसम्म पुग्न सफल भएको डिएसपी जोशीले बताए। आरोपी भण्डारीले घटनास्थलबाट भाग्दा आफ्नो चप्पल छाडेका थिए। चप्पल सुँघाएर तालिम प्राप्त कुकुरले भागेको दिशा र घरतिर देखाएको थियो।
‘कुकुरले भागेको ठाउँ देखाइदियो। त्यसपछि घरमा तलासी लिएर बिहीबार बिहान साढे ४ बजे पक्राउ गर्यौं,’ डिएसपी जोशीले भने। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। स्रोतः सेतोपाटी