समाज
मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा तुलसी मेहर प्रथम

मकवानपुर, जेठ ३-
मदन भण्डारी फाउण्डेसन मकवानपुरले ३१औं मदन–आश्रित स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा तुलसी मेहर माध्यमिक विद्यालय प्रथम भएको छ । हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी १५ वटा विद्यालयको सहभागिता रहेको मावि स्तरिय प्रतियोगितामा तुलसी मेहरले प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय द्धितीय, जिएस निकेतन तृतीय र आधुनीक राष्ट्रिय माध्यमिक विद्यालय सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले जनही नगर १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे । भने, सहभागी अन्य विद्यार्थी र विद्यालयले सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रममा विशाल अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जग्गनाथ थपलियाले विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरे । कार्यक्रममा बोल्दै थपलियाले मदन भण्डारी फाउण्डेसन मकवानपुरले जननेता भण्डारी र जिवराज आश्रितको सम्झनामा गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए । कार्यक्रममा मकवानपुर बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख यम सिलवाललगायतको उपस्थिती रहेको कार्यक्रम संयोजक कुमार केसीले जानकारी दिए ।
फाउण्डेसनले आज श्रद्धञ्जली सभा आयोजना गरेर तीन दिवशीय कार्यक्रम समापन गर्ने अध्यक्ष खुलालले बताए । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ ।