समाचार

भैरवनाथको रथ भाँचियो

०
Banner

काठमाडौं, चैत २९-

भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ।

मङ्गलबार दिउँसो ३ बजेदेखि हजारौं जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्‍याइएको थियो। फर्काउँदा रथ बुधबार बिहान ३ बजे सुकुलढोकामा पुर्‍याएको थियो। मङ्गलबार राति नै रथलाई गःहिटी पुर्‍याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि बुधबार पुनः तानेर गःहिटी नजिक ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन्।

मङ्गलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो। तर चलनअनुसार रथलाई बुधबार दिउँसो ३ बजेसम्म पनि गःहिटी पुर्‍याउन सकिएन। रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले बताइन्। उनले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताइन्। रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने छ।

रथ जसरी पनि गःहिटी पुर्‍याएर पूजा गर्ने तथा शुक्रबार ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्‍याउनु पर्ने बाध्यता छ। त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत भइरहेको प्रमुख वलीको भनाइ छ।

नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्‍याएपछि मात्रै लिङ्गो उठाउने कार्य सुरु हुन्छ।

आगामी वैशाख १ गते लिङ्गो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ। जात्रा सञ्चालनका क्रममा जथाभावी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको प्रमुख वलीको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>