समाचार

कांग्रेस महाधिवेशनको उद्घाटनमा रवि, केपी, प्रचण्डसहितका शिर्ष नेताको उपस्थिती रहने

०
Banner

काठमाडौं, असोज १६-

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ । काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटनको तयारी तीव्र पारिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले शुक्रबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ । महाधिवेशनमा सात हजार २८ प्रतिनिधिहरू सहभागी हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन विदेशबाट पनि जनसंगठनका प्रतिनिधिहरू काठमाडौं आउँदै गरेका उनले जानकारी दिए । महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भएको उनले बताए ।

पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशन उद्घाटनका लागि बोलाइएको प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । अन्य पार्टीका नेताहरूलाई पनि महधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन बोलाइएको चालिसेले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल ९प्रचण्ड०, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृत पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा आउने तय भएको उनले बताए ।

खुलामञ्चमा आयोजना हुने उद्घाटन सत्रमा पूर्वसभापति शेरबहादुर देउवालाई बोलाउने प्रयास अझै जारी रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । विदेशी अतिथिहरूमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आएकी छन् । अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता सुनिश्चित हुने क्रम जारी रहेको चालिसेले बताए ।

असोज १८ गते कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन हुँदै छ । महाधिवेशनमा १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । असोज २१ र २२ गते निर्वाचनका प्रक्रियाहरू हुने जानकारी दिइएको छ । १५औँ महाधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयनलाई प्राथामिक्ता दिइने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>