समाचार
जुवातास खेलिरहेको अवस्थामा चितवन र सुनसरीबाट २० जना पक्राउ

काठमाडौं,असोज ३१-
प्रहरीले विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २० जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरी सप्तकोसी नगरपालिका–२ सिद्धिपुर बस्ने ४० वर्षीय बिश्वास थापा मगर समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार १० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।यस्तै, झापाको अर्जुनधारा नगरपालिका–५ ओमचोक बस्ने ५५ वर्षीय सिताराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिताराम समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ६ सय ८० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो। यता, चितवनको रत्ननगर नगरपालिका-१० बगैंचा टोल बस्ने ४५ वर्षीय धन कुमार तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुर समेत ९ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार २ सय ५५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।























