Breaking News

अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, आजदेखि नयाँ नियम लागू

०
Banner

तस्बिरः एआई

मेलबर्न, असोज १६ –

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।

नयाँ व्यवस्था अक्टोबर २ अर्थात् आजदेखि लागू भएको हो । यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ ।

नयाँ नियमअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अनसोर (अस्ट्रेलिया भित्रैबाट) पनि भिसा आवेदन दिन पाउने छैनन् ।

साथै, हालको कोर्स पूरा हुन अझै १२ महिनाभन्दा बढी समय लाग्ने अवस्थामा पनि अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन ।

कोर्स पूरा हुन १२ महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सक्नेछन् । नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट अर्थात् अफसोर आवेदन दिनुपर्नेछ ।

त्यसो त यो नियम विद्यावारिधि अध्ययनरत विद्यार्थी, विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने बताइएको छ ।

नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ । अब विद्यार्थीले पुनरावलोकनको आवेदन दिए पनि निर्णय नआएसम्म अस्ट्रेलिया बाहिर बस्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि नै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनका क्रममा परिवार ल्याउन प्रतिबन्ध लगाउने व्यवस्था अघि सारेको थियो । अध्ययनपछि काम गर्न पाउने पोस्ट–स्टडी वर्क भिसामा रहेका विद्यार्थीका परिवारलाई समेत ल्याउन नदिने नीति सार्वजनिक भइसकेको छ ।

अस्ट्रेलियाले आप्रवासीको वार्षिक संख्या करिब ३ लाखबाट घटाएर २ लाख २५ हजार पुर्‍याउने नीति अघि सारेको छ । विद्यार्थी भिसामा पनि पछिल्लो समय कडाइ गरिएको छ । स्रोतका अनुसार नेपाली विद्यार्थीको भिसा स्वीकृति दर अहिले करिब ३६ प्रतिशतमा झरेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>