कृषि
दुषित दाना उत्पादन गरी बिक्री गर्ने चितवनको न्यू होप एग्रोविरुद्ध मुद्धा दर्ता, एक वर्षसम्म कैद सजाय हुनसक्ने

चितवन, असोज १५-
चितवनको भरतपुर महानगरपालिका १५ स्थित न्यू होप एग्रो विजनेश नेपाल प्रा.ली माथि मुद्दा दर्ता भएको छ। दुषित दाना उत्पादन तथा विक्रि वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा गत साउन १४ गते मुद्दा दर्ता भएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार दानाको गुणस्तर कम भएको गुनासो आएपछि मुद्दा दर्ता गरिएको हो। अहिले न्यू होप एग्रोलाई दाना पदार्थ ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिए। ‘हामीले अहिले दाना पदार्थ ऐन अनुसार मुद्दा चलाएका छौँ’, उनले भने ‘धरौटी लिएर थप अनुसन्धान भइरहेको छ। यसको फैसला प्रमुख जिल्ला अधिकारीले गर्नुहुन्छ।’
यस मुद्दा अहिले बिचाराधिन अवस्थामा छ। दोषी देखिएमा दाना पदार्थ ऐन २०३३ अनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले जानकारी दिए । यस ऐन अनुसार २० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा एक महिना देखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

























