खेलकुद
गैंडा कपको उपाधिका लागि चितवन ट्रेनिङ सेन्टर र हेटौंडा स्पोट्र्स एकेडेमी भिड्ने

चितवन, असोज १६–
नेपाल प्रिमियर लिग फ्रेन्चाई चितवन राइनोजको आयोजनामा हेटौंडामा जारी गैँडा कप–२०८३ को उपाधिका लागि चितवन ट्रेनिङ सेन्टर र हेटौंडा स्पोट्र्स एकेडेमी भिड्ने भएका छन् ।
दोस्रो दिन चार खेल सम्पन्न भएसंगै फाइनल समीकरण पूरा भएको हो । दोस्रो दिनमा हेटौंडा स्पोट्र्स एकेडेमीले चितवनको इस्र्टन क्रिकेट एकेडेमी (इसीए)लाई ६ विकेटले हरायो । ९० रनको लक्ष्य हेटौंडाले ४ विकेट गुमाउँदै पूरा गर्यो । इसीएले ६ विकेटको क्षतिमा ९० रन बनाएको थियो । अर्को रोमाञ्चक खेलमा इसीए–ए ले भरतपुर क्रिकेट एकेडेमीलाई १ रनले पराजित गर्यो । इसीए–ए ले दिएको लक्ष्य पछ्याएको भरतपुर ७ विकेट गुमाउँदै ४२ रनमै सीमित भयो ।
जीएचसीए हत्तिबनले पनि भक्तपुर क्रिकेट एकेडेमीमाथि ६ विकेटको जित दर्ता ग¥यो । भक्तपुरले ९ विकेट गुमाउँदै ६६ रन बनाएपछि जीएचसीए हत्तिबनले उक्त लक्ष्य ६ विकेट गुमाएर पूरा गर्यो । यता, चितवन ट्रेनिङ सेन्टरले एन्जल्स स्पोट्र्स क्रिकेट एकेडेमीलाई १० विकेटले पराजित गर्यो । ५१ रनको लक्ष्य चितवनले कुनै विकेट नगुमाई पूरा गरेको हो ।
हेटौंडा स्पोट्र्स एकेडेमी फाइनलमा
पहिलो सेमिफाइनलमा हेटौंडा स्पोट्र्स एकेडेमीले इसीए–ए को सामना गरेको थियो । उक्त खेलमा हेटौंडाले ६ विकेटको जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो ।
पहिले ब्याटिङ गरेको इसीए–ए लाई हेटौंडाले ३ विकेटको क्षतिमा ७६ रनमा रोक्यो । जवाफी ब्याटिङमा हेटौंडाले ४ विकेट गुमाउँदै ८० रन बनाएर लक्ष्य पूरा गर्यो ।
हेटौंडाको जितमा युबिन बुढाथोकीले महत्वपूर्ण योगदान गरे । उनले मात्र १५ बलमा आक्रामक २८ रन बनाएर टोलीलाई आवश्यक गति प्रदान गरे ।
रोबिन शर्माको विस्फोटक ब्याटिङसँगै चितवन फाइनलमा
दोस्रो सेमिफाइनलमा गैँडा कप २०८३ कै उत्कृष्ट व्यक्तिगत प्रदर्शनमध्ये एक देखियो । चितवन ट्रेनिङ सेन्टरका कप्तान रोबिन शर्माले मात्र २६ बलमा ६९ रनको विस्फोटक इनिङ खेल्दै टोलीलाई २ विकेटको क्षतिमा १३९ रनको बलियो योगफलसम्म पुर्याए । जवाफी ब्याटिङमा जीएचसीए हत्तिबनले ७ विकेट गुमाउँदै ८१ रन मात्र बनाउन सक्यो । यससँगै चितवनले ५८ रनको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो । शर्माको उक्त इनिङ गैँडा कप २०८३ को पहिलो अर्धशतक समेत बन्यो । प्रतियोगितामा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका चितवन ट्रेनिङ सेन्टरका कप्तान शर्माले आफ्नो पहिलो खेलमा ४९ रन बनाएर अर्धशतकबाट मात्र १ रनले चुकेका थिए ।
यसपटक २६ बलमा ६९ रनको आक्रामक इनिङ खेल्दै शर्माले ब्याटरका रूपमा मात्र नभई कप्तानका रूपमा समेत आफ्नो प्रभावलाई थप बलियो बनाएका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार विहान १० बजे गौरीटार क्रिकेट रंगशालामा हुनेछ ।























