चितवन विशेष

रक्त स्वयंसेवी अधिकारीले जन्मदिनमा विद्यार्थीलाई दिए शैक्षिक तथा खेलकुद सामग्री

०
Banner

चितवन, असोज १६–

रक्त स्वंयमसेवी, समाजसेवी, तथा ब्राइट एजुकेशन नेटवर्क प्रा.लि.का प्रवन्ध निर्देशक अर्जुन अधिकारीले आफ्नो जन्मदिनको अवसरमा राष्ट्रिय माध्यमिक विद्यालय, काफलडाडाका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन्।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमध्ये कतिपय आर्थिक रूपमा विपन्न रहेको तथा आवश्यक पाठ्यपुस्तक र अध्ययन सामग्रीको समेत अभाव हुने अवस्थालाई मध्यनजर गर्दै अधिकारीले कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूका लागि क्याल्कुलेटर तथा कक्षा १० का विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्रीका १० सेट सहयोग गरेका हुन्। विद्यार्थीहरूको खेलकुद तथा मनोरञ्जनलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयलाई भलिबल समेत हस्तान्तरण गरेका छन्।

आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको अधिकारीले बताए । बाटो कठिन हुँदाहुँदै पनि आफ्नो व्यस्त समयबाट केही समय निकालेर विद्यालयमै उपस्थित भई विद्यार्थीहरूसँग जन्मदिनको खुसी साट्नुका साथै सहयोग सामग्री हस्तान्तरण गरेकोमा विद्यालय परिवारले अधिकारीप्रति आभार प्रकट गरेको छ।

विद्यालयका अनुसार अधिकारीको सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा सहजता प्रदान गर्नुका साथै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत उत्साह थप्नेछ। विद्यालयले आगामी दिनमा पनि यस्तै आत्मीय सम्बन्ध, सहकार्य र सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेको छ। “जन्मदिनको खुसी आफूसँग मात्र सीमित नराखी आवश्यकतामा रहेका विद्यार्थीहरूसँग बाँड्नु नै वास्तविक खुसी हो,” भन्ने भावनाका साथ गरिएको यस सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

यस्तै जन्मदिनकै अवसरमा आज भरतपुरस्थित चौविसकोठीमा रक्तदान कार्यक्रम गरिएको छ । वर्षाले प्रभावित बनाएको कार्यक्रममा १५ जनाले रक्तदान गरेको विश्व रक्तदाता संगठन चितवनका संयोजक राजेन्द्र प्रसाद पौडेलले जानकारी दिए । संगठनले चितवनले नियमित घुम्ती रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । घुम्ती रक्तदान कार्यक्रमबाट हालसम्म एक हजार १८३ पिन्ट रगत संकलन गरिएको संयोजक पौडेलले जानकारी दिए ।
कार्यक्रममा रक्त स्वंयसेवीहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>