Breaking News

जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको प्रयासमा अदालतले लगायो रोक

०
Banner

वासिङ्टन, मांसिर १० –

अमेरिकामा जन्मिने बालबालिकालाई जन्मसिद्ध नागरिकता प्रदान गर्ने व्यवस्थामा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को प्रयासलाई सङ्घीय अदालतले रोक लगाएको छ । अदालतले अमेरिकी संविधानले सुनिश्चित गरेको नागरिकताको अधिकारमा राष्ट्रपतिले आफूखुसी नयाँ सर्त वा अपवाद थप्न नसक्ने स्पष्ट पारेको छ ।

वासिङ्टनस्थित सङ्घीय अदालतले ट्रम्प प्रशासनको नयाँ कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउँदै अमेरिकामा जन्मिएका बालबालिकालाई उनीहरूका अभिभावकको नागरिकता वा आप्रवासन अवस्थाका आधारमा जन्मसिद्ध नागरिकताबाट वञ्चित गर्न नमिल्ने ठहर गरेको हो ।

प्रभावित परिवारका तर्फबाट अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू) ले अदालतमा मुद्दा दायर गरेको थियो ।

पुरानो आदेश रोकिएपछि नयाँ उपाय

ट्रम्पले गत अगस्ट ६ मा नयाँ कार्यकारी आदेश जारी गर्दै अमेरिकामा जन्मिने केही बालबालिकालाई जन्मका आधारमा प्राप्त हुने नागरिकताको अधिकारबाट बाहिर राख्ने प्रयास गरेका थिए ।

यसअघि जुन महिनामा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको नागरिकतासम्बन्धी पुरानो आदेशमाथि रोक लगाएको थियो । त्यसपछि प्रशासनले नयाँ आदेशमार्फत थप केही श्रेणीका बालबालिकालाई नागरिकताको अधिकारबाट वञ्चित गर्ने प्रयास गरेको थियो ।

कुन बालबालिकाको नागरिकतामा खतरा थियो ?

ट्रम्पको नयाँ आदेशले आमाबाबु दुवै अमेरिकी नागरिक नभएका परिवारका अमेरिकामा जन्मिने बालबालिकालाई लक्षित गरेको थियो । यसमा मुख्यतः निम्न समूह समेटिएका थिए–

– प्रशासनले ‘शत्रु राष्ट्रका विदेशी नागरिक’ मानेका व्यक्तिका सन्तान ।

– विदेशी सरकारका कर्मचारी तथा सरकारी जिम्मेवारीका कारण अमेरिकामा बसिरहेका व्यक्तिका सन्तान ।

–अमेरिकामा बच्चा जन्माएर नागरिकता प्राप्त गर्ने उद्देश्यले आउने विदेशी नागरिकका सन्तान ।

–पैसा तिरेर व्यावसायिक सरोगेसीमार्फत अमेरिकामा जन्माइएका बालबालिका ।

यस आदेशले विदेशी दूतावास तथा कन्सुलर कार्यालयमा काम गर्ने केही कर्मचारीका सन्तानलाई समेत समेटेको थियो । अमेरिकी प्रशासनको तर्क थियो कि यी समूहका व्यक्तिहरू अमेरिकी संविधान अन्तर्गत जन्मसिद्ध नागरिकताको अधिकार पाउने श्रेणीमा पर्दैनन् ।

अदालतले के भन्यो ?

अदालतले प्रशासनको तर्क अस्वीकार गर्दै अमेरिकामा जन्मिने बालबालिकाका लागि राष्ट्रपतिले आफ्नै इच्छाअनुसार नागरिकताका नयाँ अपवाद बनाउन नसक्ने स्पष्ट पारेको छ ।

एसीएलयूका अनुसार अदालतले अमेरिकी कानुनअन्तर्गत पर्ने बालबालिकालाई उनीहरूका आमाबाबुको नागरिकता वा आप्रवासन हैसियतका आधारमा जन्मसिद्ध नागरिकताको अधिकारबाट वञ्चित गर्न नमिल्ने ठहर गरेको छ ।

विभिन्न संस्थाको संयुक्त कानुनी चुनौती

ट्रम्पको नयाँ आदेशविरुद्ध एसीएलयू र अन्य संस्थाले सेप्टेम्बर २८ मा वासिङ्टनको अदालतमा मुद्दा दायर गरेका थिए । यस कानुनी अभियानमा एसियन ल ककस, एनएएसीपी लिगल डिफेन्स एन्ड एजुकेसनल फन्ड तथा डेमोक्रेसी डिफेन्डर्स फन्डलगायत संस्था सहभागी थिए ।

यी संस्थाले यसअघि नै पुरानो नागरिकता मुद्दामार्फत अगस्टमा जारी नयाँ आदेशलाई चुनौती दिने प्रयास गरेका थिए । तर पछि नयाँ आदेशविरुद्ध छुट्टै मुद्दा दायर गरिएको थियो ।

सर्वोच्च अदालतको पुरानो फैसलापछि अर्को झट्का

बुधबार आएको यो फैसला ट्रम्प प्रशासनको नागरिकता नीतिसम्बन्धी अर्को कानुनी पराजय हो । यसअघि जुन महिनामा सर्वोच्च अदालतले ट्रम्पको पहिलो आदेशका कारण नागरिकता गुमाउने जोखिममा रहेका बालबालिकाको अधिकार संरक्षण गर्ने फैसला गरेको थियो ।

नयाँ फैसलाले अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकारलाई सीमित गर्ने ट्रम्प प्रशासनको प्रयासमा थप अवरोध खडा गरेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>