खेलकुद
एसिसी प्रिमियर कप : नेपालले भोलि मलेसियासँग खेल्दै

काठमाडौं, चैत २९-
उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । प्रतियोगिता भोलिबाट ओमानमा आयोजना हुँदै छ ।
प्रतियोगिताका लागि आयोजक एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी सबै टोलीको घोषणा गरिसकेको छ । नेपालको १४ सदस्यीय टोलीमा भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् ।
नेपाल प्रतियोगिताको समूह ‘ए’मा रहेको छ । यस समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । नेपालले भोलिमा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेल वैशाख २ गते कतारसँग हुनेछ । हङकङसँग वैशाख ३ र साउदीसँग वैशाख ५ गते समूहको अन्तिम खेल हुनेछ ।
नेपाल रहेको समूह निकै कमजोर मानिन्छ । नेपाल तुलनात्मक रूपमा समूहकै बलियो टोली हो । समूह ‘बी’मा ओमानसहित संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । यो समूहमा ओमान र युएईलाई उपाधि दाबेदार मानिएको छ ।























