कालीकोट
आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन शिक्षकहरुलाई गृहमन्त्रीको आग्रह

काठमाडौं,असोज ४-
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग भएको छलफलमा शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको छ ।
विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै बुधबार काठमाडौंमा भेला भएर विरोध प्रदर्शन गरेका शिक्षकहरुका प्रतिनिधिहरुले गृहमन्त्री, शिक्षामन्त्री र शिक्षा मन्त्रालयका सचिवसँग संयुक्त छलफलमा शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको हो ।
छलफलमा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताएको मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । मन्त्री श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आग्रहसमेत गरेका थिए ।
‘उहाँहरुले ९शिक्षकका प्रतिनिधिहरुले० पनि शान्तिपूर्ण र मर्यादित बनाउन ध्यान दिन्छौं भन्नुभयो,’ गौतमले भने, ‘आजको छलफल एकदमै सकारात्मक भयो । अब छिट्टै औपचारिक वार्तामा बस्ने कुरा छ ।’
छलफलमा सहभागी शिक्षा मन्त्री राईले परिणाममुखी वार्ताका लागि समन्वय गर्ने बताए । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका केही व्यवस्था संशोधनको माग गर्दै देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।

























