राजनीति

सुन तस्करी प्रकरणः उच्चस्तरीय छानबिन समिति बनाउनेबारे कांग्रेसमा मतभेद

Banner

काठमाण्डौँ, साउन २८-
क्विन्टल सुन तस्करी काण्डबारे उच्चस्तरीय छानबिन समिति बनाउने या नबनाउने भन्ने विषयमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूबीचमै मतभेद देखिएको छ । शुक्रबार र आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सो प्रकरणबारे सांसदहरूको मत बाझिएको हो ।

वर्तमान गठबन्धन सरकारमा कांग्रेस प्रमुख घटक हो । सभापति शेरबहादुर देउवाले यो प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई साथ दिँदै आएका थिए भने कांग्रेसले यसअघि संसद्मा सत्तापक्षका हिसाबले उच्चस्तरीय छानवबन समिति बनाउन आवश्यक नरहेको धारणा राख्दै आएको थियो । तर संसदीय दलको बैठकमा भने सांसदहरूले क्विन्टल सुन प्रकरणले नेपाल सुन तस्करीको ठूलो अखडा भइसकेको तथ्य उजागर गरेको भन्दै त्यसबारे गम्भीर भएर उच्चस्तरीय छानबिन आवश्यक रहेको बताएका छन् ।

दलको बैठकमा आइतबारसम्म सभापति देउवा र दलका पदाधिकारीहरूले धारणा राखेका छैनन् । तर नेता शेखर कोइरालाले भने सो प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर गहिरो छानबिनको आवश्यकता औंल्याएका छन् । एमालेले यस्तै समिति बनाएर छानबिन हुनुपर्ने माग गर्दै त्यस्तो समिति नबनाएसम्म संसद् चल्नै नदिन अडान लिँदै आएको छ ।

बैठकमा संस्थापन पक्षका सांसदहरूले सरकार मातहतका निकायहरूबाटै अनुसन्धान गर्नु प्रभावकारी हुने अडान लिएका छन् भने कोइराला समूहका सांसदहरूले उच्चस्तरीय छानबिन समितिबाट छानबिन गर्नु उपयुक्त हुने दाबी गरेका छन् । कोइराला समूहका नेताहरूले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्रीसहित मन्त्रीहरूको नाम जोडिएर आएको र विगतदेखिका प्रकरणमा माओवादी केन्द्रका अन्य नेता कार्यकर्ताको नामसमेत जोडिएको भन्दै त्यसकारण पनि उच्चस्तरीय छानबिन समिति उपयुक्त हुनेमा जोड दिएका छन् ।

यदि प्रधानमन्त्री पुष्पकमल दाहालले उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभए कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत तयार हुनुपर्ने सांसदहरूको भनाइ छ । बैठकमा नेता शेखर कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुको विकल्प नभएको बताए । कोइरालाले नेपालबाट भारततर्फ सुनको अवैध तस्करी भइरहेको दाबी गरे । अर्का सांसद प्रदीप पौडेलले प्रधानमन्त्रीले उच्चस्तरीय छानबिनमा अनिच्छा देखाए पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे समेत सोच्नुपर्ने बताए ।

‘बैठकमा कोइराला समूहका नेताहरू सहमहामन्त्री जीवन परियार, सांसदहरू चन्द्रकान्त भण्डारी, सञ्जय गौतम, रामकृष्ण यादव, सीता मिजार लगायतले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखे ।

तर संस्थापन पक्षका सांसदहरूले भने क्विन्टल सुन प्रकरणमा मात्रै छानबिन गरेर नपुग्ने धारणा राखे । सांसद रामहरि खतिवडाले क्विन्टल सुन प्रकरणमा मात्रै छानबिन गरेर देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम नहुने बताए । संस्थापन पक्षका सांसदहरू उदय शमशेर राणा, वीरबहादुर वलायर, शान्ति पयिार, चन्दा चौधरी, किशोरसिंह राठोर, शान्ति परियार लगायतले क्विन्टल सुन प्रकरणमा मात्रै छानबिन गरेर नपुग्ने भन्दै भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्ने गरी उच्चस्तरीय आयोग बनाउन सकिने धारणा राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>