प्रवास
भारतमा छारे रोगको नाटक गर्दै जेल तोडेर १७ कैदी भागे, ड्रोनको सहायतामा फेरि पक्राउ

काठमाडौँ ,कात्तिक १२ –
भारतको तमिलनाडु राज्यमा जेलका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर फरार भएका १७ कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
जेलमा गम्भीर स्वास्थ्य समस्या भएको बहाना सुरक्षाकर्मीलाई झुक्याएर भागेका कैदीलाई ३६ घण्टे खोजी अभियानपछि विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
तमिलनाडुको थेनी जिल्लास्थित थेक्कमपट्टी जेलबाट सोमबार राति १७ जना कैदी फरार भएका थिए । उनीहरूलाई प्रहरीले मंगलबार र बुधबार विभिन्न चरणमा पक्राउ गरेको हो । फरार भएका सबै कैदीलाई उच्च सुरक्षा व्यवस्था भएका कारागारमा स्थानान्तरण गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।
घटनाले भारतका जेलमा कैदीको अत्यधिक चाप र कमजोर सुरक्षा व्यवस्थाबारे बहस सिर्जना गरेको छ ।
स्वास्थ्य समस्या भएको नाटक गरेर भागे
प्रहरीका अनुसार सोमबार राति करिब १०ः३० बजे जेलको एउटै कोठामा रहेका १८ कैदीमध्ये एक जनाले आफूलाई छारे रोगले सताएको जस्तो अभिनय गरेका थिए । त्यसपछि अन्य कैदीले सहयोगका लागि चिच्याएपछि एक जेल अधिकारी कोठामा पुगेका थिए ।
कैदीहरूले ती अधिकारीलाई नियन्त्रणमा लिएर कोठाबाट बाहिर निस्किएका थिए । त्यसपछि उनीहरूले अन्य दुई सुरक्षाकर्मीमाथि पनि आक्रमण गरी मुख्य ढोका खोल्ने साँचो कब्जामा लिएका थिए ।
साँचो प्रयोग गरेर मुख्य ढोका खोलेपछि १७ जना कैदी फरार भएका थिए । एक जना भने तत्कालै जेल फर्किएका थिए । घटनामा जेलका केही कर्मचारी घाइते भएका छन् ।
फरार भएका सबै कैदी मुद्दाको सुनुवाइ पर्खिरहेका बन्दी अर्थात् विचाराधीन कैदी थिए ।
ड्रोनबाट खोजी, जंगलबाट आठ जना पक्राउ
कैदी फरार भएपछि तमिलनाडु प्रहरीले राज्यभरका सुरक्षा निकाय परिचालन गर्दै खोजी अभियान सुरु गरेको थियो । प्रहरीले ड्रोन निगरानी, सीसीटीभी फुटेजको विश्लेषण र विशेष टोली परिचालन गरेर फरार कैदीको खोजी गरेको थियो।
खोजीका क्रममा नजिकैको गाउँस्थित बसपार्कबाट चार जना पक्राउ परेका थिए । अर्का एक जनालाई अटोरिक्सामा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।जेल नजिकैको जंगलमा ड्रोनबाट गरिएको निगरानीका क्रममा थप आठ जना पक्राउ परेका थिए । त्यसपछि ड्रोनकै सहायताले अन्य दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाँकी दुई जना भने बुधबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । तमिलनाडु प्रहरीले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा उन्नत प्रविधि, ड्रोन निगरानी, सीसीटीभी फुटेजको विश्लेषण र प्रहरी कर्मचारीको निरन्तर प्रयासले फरार कैदीलाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।
जेल प्रशासनका नौ कर्मचारी निलम्बित
घटनामा लापरबाही गरेको आरोपमा तमिलनाडु प्रहरीले जेलका नौ कर्मचारीलाई निलम्बन गरेको छ । तमिलनाडुका कारागार महानिर्देशक सन्दीप राठोरले घटनालाई मानवीय त्रुटिको परिणाम बताएका छन् । उनका अनुसार कैदीहरूले सुरक्षाकर्मीको निगरानीमा रहेका तीन तहका सुरक्षा अवरोध पार गरेर भाग्नु सुरक्षा प्रोटोकलको स्पष्ट उल्लङ्घन हो ।
घटनाका बेला जेलमा ३३४ जना कैदी रहेका थिए, जबकि त्यहाँको स्वीकृत क्षमता २०० जनाको मात्रै थियो । राज्यको निर्धारित मापदण्डअनुसार एक सुरक्षाकर्मीले छ जना कैदीको निगरानी गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार २०० कैदी क्षमताको जेलमा कम्तीमा ३४ जना सुरक्षाकर्मी आवश्यक पर्नेमा घटनाका बेला चार जना मात्रै ड्युटीमा थिए ।
बिहीबार राठोरलाई कारागार प्रमुखको जिम्मेवारीबाट हटाएर अर्को विभागमा सरुवा गरिएको छ। प्रहरीले जेलका केही अधिकारी र फरार कैदीबिच मिलेमतो भएको हुन सक्ने आशङ्कामा पनि अनुसन्धान गरिरहेको बीबीसी तमिलले जनाएको छ ।
जेलमा कैदीको चापले सुरक्षा चुनौती
घटनाले भारतका कारागारमा क्षमताभन्दा बढी कैदी राखिँदा उत्पन्न हुने सुरक्षा चुनौतीलाई पुनः उजागर गरेको छ । भारतको राष्ट्रिय अपराध अभिलेख ब्युरो (एनसीआरबी) को सन् २०२३ को कारागारसम्बन्धी प्रतिवेदनअनुसार देशभरका जेलमा कैदीको संख्या कुल क्षमताभन्दा २०।१ प्रतिशत बढी छ । जेलको औसत क्षमता उपयोग दर १२०.१ प्रतिशत पुगेको छ ।
भारतका जेलमा रहेका कुल कैदीमध्ये ७३ प्रतिशतभन्दा बढी विचाराधीन बन्दी छन् । उनीहरू प्रहरी अनुसन्धान वा अदालतको सुनुवाइ पूरा नहुँदासम्म हिरासतमा रहने व्यक्ति हुन् ।
मानव अधिकारवादी संस्था र कानुनविद्हरूले अनुसन्धान तथा न्यायिक प्रक्रियामा हुने ढिलाइका कारण धेरै व्यक्ति वर्षौँसम्म जेलमा बस्न बाध्य भएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । राठोरले घटनापछि राज्यका सबै जेलको सुरक्षा व्यवस्थाको परीक्षण गरिने बताएका छन् ।
तमिलनाडुमा यसअघि सन् १९९५ मा पनि ठुलो जेल फरार घटना भएको थियो। त्यसबेला ४३ जना संदिग्ध विद्रोहीले ऐतिहासिक किल्लामुनि १५३ फिट लामो सुरुङ खनेर विशेष शिविरबाट फरार भएका थिए । तीमध्ये केहीलाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन। एजेन्सी
























