Breaking News
छुट्टीमा आएकालाई फर्किने क्रममा हवाई टिकट लिनुअघि श्रम स्वीकृति लिन आग्रह

काठमाडौं,कात्तिक १२ –
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका र छुट्टीमा नेपाल आएका व्यक्तिहरूलाई पुनः विदेश फर्किने क्रममा हवाई टिकट लिनुअघि नै श्रम स्वीकृति लिन आग्रह गरेको छ।
विभागले श्रम स्वीकृति नहुँदा हवाई उडान छुट्ने समस्या हुन सक्ने भन्दै श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिन अनुरोध गरेको हो।
यसअघि नै हवाई टिकट लिइसकेका व्यक्तिहरूलाई भने उडान हुनुभन्दा कम्तीमा तीन दिन अगाडि नै तोकिएको माध्यमबाट अनलाइन आवेदन गरी श्रम स्वीकृति लिन विभागले आग्रह गरेको छ।
श्रम स्वीकृतिका लागि आवेदन दिएका व्यक्तिहरूको प्रक्रियामा समस्या आएमा तत्काल समाधानका लागि विभागले सम्पर्क नम्बरसमेत उपलब्ध गराएको छ।
विभागका अनुसार समस्याबारे जानकारी लिन शाखा अधिकृत सुरेश बेहलाई ९७६८९९८४७३ नम्बरमा सम्पर्क गर्न सकिनेछ। उक्त नम्बरमा ह्वाट्सएपमार्फत सन्देश पठाएर पनि जानकारी लिन सकिने विभागले जनाएको छ।

























