तनहुँ
पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

दमौली (तनहुँ), कात्तिक १२ –
पन्ध्र वर्षपछि तनहुँको व्यास नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा दमौलीमा इलेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि व्यास नगरपालिका-३ स्थित बिपी वनवाटिकामा वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
प्रतियोगितामा नगरपालिकाका १४ वडाको सहभागिता रहनेछ । प्रतियोगितामा सम्बन्धित वडाभित्रकै खेलाडीले सहभागिता जनाउनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामार्फत स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास तथा वडास्तरमा खेलप्रतिको आकर्षण बढाउने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख, द्वितीय हुने टोलीले रु ७५ हजार र तृतीय हुने टोलीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिनेछ ।
व्यास नगरपालिका–३ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले व्यवस्थित खेलमैदानको अभावका कारण इलेभेन ए साइड फुटबल प्रतियोगिता हुन नसकिरहेको सन्दर्भमा बिपी वनवाटिकास्थित खेलमैदान व्यवस्थित हुने चरणमा रहेको जनाउँदै १५ वर्षपछि इलेभेन ए साइड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न विधाका खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । खेलकुदको विकासका लागि वडास्तरमा समेत पूर्वाधार निर्माणका काम भइरहेको उहाँको भनाइ छ । दमौलीमा खेलमैदानको अभावलाई सम्बोधन गर्न सङ्घीय सरकारको सहयोगमा खेलमैदान स्तरोन्नतिको कामसमेत अघि बढाइएको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
वडास्तरीय प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै दमौलीमा फुटबल खेलको विकास र खेलकुद गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
























