राजनीति
चीन भ्रमणको उपलब्धिबारे महामन्त्री विपिन कुमार आचार्यद्वारा सभापति रवि लामिछानेलाई ब्रिफिङ

काठमाडौं, मंसिर ११ –
चीन भ्रमणबाट फर्किएपछि आज भएको भेटमा पार्टी महामन्त्री तथा भ्रमण दलका प्रमुख विपिन कुमार आचार्यले भ्रमणबारे पार्टी सभापति रवि लामिछानेलाई ब्रिफिङ गरेका छन्।
नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर (सिचुवान, चच्याङ र बेइजिङ) को भ्रमण गरी महामन्त्री आचार्य नेतृत्वको २० सदस्यीय टोली हिजो नोभेम्बर २६ का दिन नेपाल फर्किएको थियो।
ब्रिफिङमा मुख्य राजनीतिक विषयका रूपमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको लामो तथा उच्चस्तरीय भेटवार्ताबारे महामन्त्रीज्यूले विशेष जानकारी गराए। सो महत्वपूर्ण भेटका साथै केन्द्रीय तहदेखि काउन्टीसम्मका अन्य नेताहरूसँगको संवादमा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका सन्दर्भमा अन्तर–पार्टी सहकार्यलाई सुदृढ बनाउने विषयमा गहन राजनीतिक छलफल भएको उनले उल्लेख गरे।
भ्रमणका क्रममा विभिन्न उद्योग–व्यवसायको अवलोकन तथा अन्तरक्रियाका साथै विपद्पूर्व र विपद्पश्चात्को रणनीति एवं तयारीबारे गरिएको अवलोकन र छलफलबारे पनि महामन्त्रीले सभापतिलाई जानकारी गराए।
भेटघाटका क्रममा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाहरूबारे खुलेर संवाद भएको समेत महामन्त्रीले बताए।
भ्रमणका क्रममा स्थापित उच्चस्तरीय राजनीतिक संवाद तथा देखेका, सिकेका र छलफल भएका विषयहरूलाई पार्टीभित्र र देश विकासमा लागू हुने गरी कार्यान्वयनको दिशामा लैजान सभापतिले महामन्त्रीमार्फत भ्रमण दललाई निर्देशन दिए।


























