स्वास्थ्य
जाडो सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गीको सङ्क्रमण दर घट्यो

गण्डकी, कात्तिक १२-
वर्षायाम सकिएर जाडो सुरु हुन थालेसँगै गण्डकी प्रदेशमा डेङ्गीको सङ्क्रमण दर घटेको छ । यस वर्ष सबैभन्दा बढी गत अगष्टमा एक हजार २७४ मा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा अक्टुबर लागेयता ४२५ जनामा सङ्क्रमण देखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रका महानिर्देशक मनमोहन मिश्रका अनुसार गत जुलाईदेखि डेङ्गी सङ्क्रमणको दर बढ्न सुरु गरेको थियो । सेप्टेम्बरमा एक हजार १९१ जनामा यो रोग देखिएको थियो । यस वर्ष हिमालपारिको मनाङबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महानिर्देशक मिश्रले बताउनुभयो । सबैभन्दा बढी बागलुङ जिल्ला प्रभावित भएको उहाँको भनाइ छ ।
गत जनवरीयताका ४३ हप्तामा गण्डकी प्रदेशभित्र तीन हजार ५७६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको केन्द्रको आँकडाले देखाएको छ । “एकै हप्तामा २७४ जनासम्ममा सङ्क्रमण देखिएको थियो । पछिल्लो ४३औँ हप्तामा जम्मा ६९ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ”, महानिर्देशक मिश्रले भन्नुभयो, “जाडो याममा भने यो रोग न्यून रूपमा मात्र देखा पर्छ ।” गत जनवरीमा ३५, फेब्रुअरीमा ३७ र मार्चमा जम्मा २६ जनामा डेङ्गी देखिएको थियो ।
पछिल्लो हप्ता अक्टुबर १९ देखि २५ सम्मको आँकडा अनुसार पर्वतमा २०, गोरखा र कास्कीमा १३र१३, म्याग्दीमा छ, बागलुङमा पाँच, लमजुङमा चार, स्याङ्जा र तनहुँमा तीनरतीन, मुस्ताङ र नवलपुरमा एकरएक जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको महानिर्देशक मिश्रले जानकारी दिनुभयो । “सङ्क्रमण दर घट्दै गएको छ, कात्तिक अन्तिमसम्म डेङ्गी सङ्क्रमणको जोखिम कायमै हुने भएकाले सावधानी भने अपनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
सङ्क्रमण बढेपछि यहाँका विभिन्न स्थानीय तहमा डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेङ्गीले प्रकोपको रुप लिन सक्ने भएकाले डेङ्गीलाई सामान्य रुपमा लिन नहुने चिकित्सक बताउँछन् ।
डेङ्गी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने चिकित्सकको भनाइ छ । डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने महानिर्देशक मिश्रले बताउनुभयो ।
डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने उहाँको भनाइ छ । डेङ्गी सार्ने लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र दिनमा मात्र टोक्ने भएकाले सर्तकता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
























