अन्तर्राष्ट्रिय

भारतीय संसदमा नेपाली भूमि समेटिएको नक्सा राखिएपछि…

Banner

काठमाडौं,जेठ १६-

भारतीय संसदको नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपालको भू–भाग समेत समेटिएको विषय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्कोगरी उठाएको छ । त्यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएकाले भारत सरकारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुरा उठाउनुपर्ने एमाले नेताहरुले सुझाव दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार केन्द्रीय मूख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा भारतीय कदम उचित नभएको बताए । ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ’, ओलीले भने, ‘यति कुरा गर्न सक्नु हुन्न भने भारत भ्रमणमा किन जाने ?’

एमालेका अरु नेताहरुले पनि नेपालको भूभाग समेटिएको मुरल (भित्ते नक्सा) भारतको संसद भवनभित्र राखिनु आपत्तिजनक भएको बताएका छन् । मंगलबार बिहान पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट विवादास्पद नक्साले छिमेकहरुबीच अनावश्यक र हानिकारक कुटनीतिक विवाद निम्त्याउन सक्ने उल्लेख गरेका छन् । ‘यसले भारतका निकटतम छिमेकहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ’ भारत र नेपालका प्रधानमन्त्रीलाई मेन्सन गर्दै भट्टराईले लेखेका छन्, ‘त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ ।’

सरकारको नेतृत्व गरिरहेको दल, नेकपा माओवादी केन्द्रको संसदीय दलमा पनि यो विषय उठेको छ । मंगलबार बसेको बैठकमा सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले यो विषय उठाएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले त्यो नक्साको आधिकारिकता बुझ्ने जवाफ दिए । ‘मैले पनि न्युज सुनेको हुँ, थप बुझौंला । आधिकारिकता के हो बुझ्छु’ प्रधानमन्त्री प्रचण्डको जवाफ थियो । सरकारले भने मंगलबार साँझसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>