राजनीति
श्रीमानलाई स्वकीय राखेपछि जनमत पार्टीले गर्यो सांसदलाई कारबाहीमा

काठमाडौं,जेठ १२-
राष्ट्रिय जनमत पार्टीले राइट टु रिकलको अभ्यास गर्दै दुई सांसदलाई कारबाही गरेको छ। शुक्रबार बसेको पार्टी केन्द्रीय कार्य समितिको बैठकले सिरहाकी विनिताकुमारी सिंह र मोरङबाट प्रतिनिनिधत्व गर्ने सोनु मुर्मुलाई कारबाही गरेको हो।
उनीहरूलाई राइट टु रिकल (पार्टीले फिर्ता बोलाउन)सक्ने व्यवस्थाअनुसार समानुपातिक सांसदबाट फिर्ता बोलाउने निर्णय गरेको एक नेताले बताए। उहाँहरू कारबाहीको प्रक्रियामा परिसक्नुभएको छ,ती नेताले भने, जनमतमा राइट टु रिकल सुरू भइसकेको छ। कि जनताको प्रतिनिधि बन, कि कारबाही भोग्न तयार होऊ अभियान नै अन्तर्गत प्रक्रिया अघि बढाइएको हो। ती नेताका अनुसार सोनु मुर्मुले पार्टीको निर्देशन अटेर गर्दै आफ्नै श्रीमानलाई स्वकीय सचिव राखेपछि कारबाही गरिएको हो।
पार्टी कमिटीका बैठकमा अनुपस्थित रहने र सांसदको भूमिका पनि चित्तबुझ्दो नभएपछि कारबाहीमा परेको ती नेताको भनाइ छ।