राजनीति
आरोप लगाएको रकम बराबरको क्षतिपूर्ति माग गर्दै ढाकाकुमारविरुद्ध मानहानीको मुद्दा हाल्छुः प्रवक्ता ढकाल

काठमाडौं, जेठ ११-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध रास्वपाका प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले मानहानीको मुद्दा हाल्ने भएका छन् ।
‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, प्रवक्ता सामाजिक सञ्जालमार्फत ढकालले भने ।
उनले अगाडि लेखेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ।’ त्यस्तै आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्ने प्रवक्ता ढकालको भनाइ छ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ, उनी भन्छन् ।




























