राजनीति
दुलालको बयान- ओलीका स्वकीय सचिवलाई एक करोड दिएँ, प्रेम राईलाई तीन करोड

काठमाडौं,जेठ ९-
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड नगद बुझाएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले लिएको बयानमा दुलालले ०७६ असोजमा प्रधानमन्त्रीको निजी निवास बालुवाटारमै गएर आफूले बज्राचार्यलाई एक करोड बुझाएको बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जीसीमार्फत मलाई बोलाएर मिति २०७६ साल असोजमा एक करोड रुपैयाँ नगदै दिएको हुँ,बयानमा दुलालले भनेका छन् । उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापामार्फत आफूले तीन करोड रुपैयाँ नगद दिएको पनि बताएका छन् । उनले पुलचोकस्थित मन्त्री क्वार्टमै गएर पैसा दिएको बताएका छन् । प्रतीक स्वयम्लाई नक्सालस्थित एक होटेलमा एक करोड रुपैयाँ दिएको पनि बताएका छन् ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वाटर पुलचोकमा बोलाएर निज रामबहादुर थापा बादल राष्ट्रिय सभागृहको चुनाव हुनु भन्दा अगाडि तीन करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्सा घरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा एक करोड बुझी लिएको, दुलालको बयानमा उल्लेख छ ।
तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा ०७६ साउनमा तीन करोड रुपैयाँ दिएको पनि बताएका छन् ।



























