देश/प्रदेश
रामलीला मञ्चनमा युवा पुस्ताको साथ खोजिँदै

राँझा (बाँके),असोज २१-
नेपालगन्जमा १५० वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला संस्कृतिको विरासत जोगाउन युवापुस्ताको साथ खोजिएको छ ।
यस वर्ष रामलीला मञ्चनको १५९औँ संस्करणलाई आकर्षण बढाउन युवा पुस्तालाई समेत साथमा लिएर जिम्मेवारी दिइएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो ।
“पहिले युवा पुस्ताले रामलीलाका बारेमा त्यति धेरै चासो र चिन्ता गरेका थिएनन्, अहिले आकर्षण र साथ बढ्दै गएको छ”, रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले भन्नुभयो, “हाम्रो निरन्तरको प्रयासले नयाँ पुस्ता पनि रामलीलामा जोडिदै गएका छन् ।”
युवा पुस्तालाई रामलीलाको इतिहास र यसको सन्देशका बारेमा अझ धेरै प्रचारप्रसार गरेर संस्कृति संरक्षणमा नयाँ पुस्तालाई पनि साथमा लैजाने योजना रहेको उहाँले बताउनुभयो । रामलीला सञ्चालक समितिमा पनि रिक्त स्थानमा युवा पुस्तालाई समेट्दै गएको कनोडियाको भनाइ छ ।
प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको १५९औँ संस्करणको लागि आवश्यक तयारी सुरु गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले जानकारी दिनुभयो ।
“विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि रामीलला महोत्सव सञ्चालन गर्ने तयारी गरेका छौँ”, अध्यक्ष कनोडियाले भन्नुभयो, “रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार बुक गरिसकेका
छौँ ।”
रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको अध्यक्ष कनौडियाले बताउनुभयो । नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोच बनाएको उहाँले उल्लेख गर्नुभयो । एउटा आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुने गर्दछ । अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढ सय वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताउनुभयो ।
“शतप्रतिशत समुदायको सहयोगबाट चलेको छ । नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ”, कनोडियाले भन्नुभयो ।
सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ । नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।
यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको उहाँको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार विश्वनाथ टण्डन, बद्रीनाथ टण्डन, पाटनदिन गुप्ता, जगदीशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगन्जमा रामलीला महोत्सवको सुरुआत गर्नुभएको थियो ।
नेपालगन्जको परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो । विसं १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला सीमावर्ती भारतीयहरूबीच लोकप्रिय छ । रासस























