देश/प्रदेश

तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा

Banner
दमौली (तनहुँ), असार ५ –
तनहुँ जिल्लाका दशवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।
चालु आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने लक्ष्यअनुसार जिल्लाका सबै पालिकाले उक्त उपलब्धि हासिल गरेका हुन् । आँबुखैरेनी गाउँपालिकालाई बिहीबार पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएसँगै जिल्लाका सबै पालिका पूर्णखोप सुनिश्चित भएका हुन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिकालाई  पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन् ।
उहाँका अनुसार जिल्लाका दशवटै पालिकाका ८५ वटै वडालाई यसअघि नै पूर्णखोप वडा घोषणा गरिसकिएको छ । अब केही दिनभित्रै तनहुँ जिल्लालाई नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिने उहाँले बताउनुभयो ।  पालिकाभित्र रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि सम्बन्धित पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिने व्यवस्था रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पूर्णखोप अभियानले बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्नुका साथै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ । जिल्लाभर खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीच सहकार्यलाई अझ सुदृढ बनाइँदै लगिने जनाइएको छ ।  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>