चितवन विशेष
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघलाई डार्ट गरेर लिइयो नियन्त्रणमा

चितवन,कात्तिक १८ –
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोलाको छेउमा निउरो टिप्न गएका स्थानीय ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो।
हिजो (मंगलबार) दिउँसो करिब २ बजे चार जना साथीहरूसँग निउरो टिप्न गएका महतोलाई बाघले आक्रमण गरी लगेको उनका साथीहरूले बताएका छन्। घटनाबारे सोही दिन साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराइएको थियो।
जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीय बासिन्दा तथा वनका कर्मचारीको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो।
खोजी गर्ने क्रममा आज बिहान बिहान १०ः५५ बजे चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेको स्थान नजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।
























