देश/प्रदेश
कञ्चनपुरका भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई दुई लाख राहत

कञ्चनपुर,मंसिर ३ –
भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतस्वरुप जनही रु दुई लाख उपलब्ध गराउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो ।
“बेपत्ता भएका २६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “पछि शोधभर्ना हुनेगरी सम्बन्धित पालिकालाई राहत रकम उपलब्ध गराउन भनिसकेका छौँ ।” उहाँले समितिको निर्णयअनुसार २६ परिवारलाई जनही रु दुई लाखका दरले रु ५२ लाख राहत रकम प्राधिकरणसँग माग गरिएको बताउनुभयो ।
प्रजिअ कोइरालाका अनुसार बाढीमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका आठ, बेदकोट र बेलौरी नगरपालिकाका तीनरतीन, शुक्लाफाँटा नगरपालिकाका छ, कृष्णपुर नगरपालिकाकाका पाँच र लालझाडी गाउँपालिकाका एक जना बेपत्ता छन् ।
























