अर्थ

५० लाख मुनिका ईभीमा कर नबढाउन प्रधानमन्त्रीकै निर्देशन

Banner

काठमाडौं, जेठ १८-

विद्युतीय सवारी साधन (ईभी) करबारे बोल्दै मन्त्री स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीमा कर नबढाउन प्रधानमन्त्रीबाटै निर्देशन आएको बताएका छन् ।

वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोस्ट बजेट डिस्कसन’ कार्यक्रममा उनले एक करोडसम्मका ईभी चढ्नु विलासिता भएको विषय सबैले स्वीकार गर्नुपर्ने बताए ।

यसअघि किलोवाटका आधारमा गाडी भित्र्याउँदा महालेखा परीक्षकले प्रश्न उठाएका कारण व्यवसायी तनावमा रहेको उनको भनाइ छ । अहिले मूल्यका आधारमा कर लगाउँदा अटो व्यवसायीले राहत महसुस गरेको उनले दाबी गरे ।

ईभी पूर्ण रूपमा स्वच्छ ऊर्जा नभएको र यसको ब्याट्री व्यवस्थापनको विषय पेचिलो बन्दै गएको तर्फ पनि उनले सचेत गराए । वाग्लेले आगामी पाँच वर्षका लागि नीतिगत दिशा तय गर्ने गरी आर्थिक बर्ष २०८३/८४ को बजेट ल्याएको बताए ।

पाँच वर्षको अवधि सोचेर जग बसाउने गरी यो बजेट ल्याइएको उनको भनाइ छ । पर्याप्त समय नहुँदा छुट्न गएका केही विषय अर्को वर्ष सम्बोधन हुने उनले बताए । अहिलेको सरकार पाँच वर्षकै लागि भएकाले पहिलो बजेटमै सबै विषयमा अपेक्षा नगर्न पनि उनले आग्रह गरे।

बजेट कार्यान्वयन हुँदा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७४ खर्ब ५८ अर्ब रुपैयाँ पुग्ने र २१ खर्ब २४ अर्बको बजार चलायमान बनाएर ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण उनले गरे । भूकम्पपछि जीडीपीको तुलनामा ३७ प्रतिशतसम्म बजेट आएकोमा अहिले प्रक्षेपित जीडीपीको २८ प्रतिशत मात्रै विनियोजन गरिएको र १५ सय ८० अर्ब राजस्व संकलनको लक्ष्य राखिएकाले ऋणमा धेरै भर नपरिएको उनले प्रस्ट पारे । ऋण जीडीपीको अनुपातमा ४३ प्रतिशतभन्दा बढी नहुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>