Breaking News
रसिद खानको विस्फोटक अर्धशतकमा काठमाडौं गोर्खाजले चितवनलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं,कात्तिक २३ –
नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सोमबार जारी डे–नाइट खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो।
काठमाडौंका लागि अलराउन्डर रसिद खानले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। उनले ३० बलमा २ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाए।
१३ रनमै दुई विकेट गुमाएर दबाबमा परेको काठमाडौंको इनिङ्स रसिदले सम्हालेका थिए। उनले विलियम बोसिस्टोसँग तेस्रो विकेटका लागि ६२ रन र सहन अराचिगेसँग चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे।
अराचिगेले २० बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाए भने बोसिस्टोले २२ बलमा २७ रन जोडे।
त्यस्तै, काठमाडौंका कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै ७ बलमा ३ छक्कासहित २० रन बनाए। सन्तोष यादव २ बलमा एक छक्कासहित ८ रनमा अविजित रहे। मोहम्मद आदिल आलमले ९ र जहान्दाद खानले ६ रन बनाए। भीम सार्की अविजित रहे।
काठमाडौंका सुरुआती ब्याटर डेभिड वार्नर १ र साहिल पटेल ८ रनमा आउट भएका थिए। काठमाडौंले अतिरिक्त १६ रन प्राप्त गरेको थियो।
चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। कमल ऐरी र सिकन्दर राजाले समान दुई विकेट लिए। ऐरीले २५ र राजाले १९ रन खर्चिए। ड्यान मौसलेले एक विकेट हात पारे।
अब चितवन राइनोजले जितका लागि १८१ रन बनाउनुपर्नेछ।
























