Breaking News
तिहारमा देउसी–भैलोका लागि चौबिसै घण्टा छुट, गृह मन्त्रालयले जारी गर्यो सातबुँदे निर्देशन
०

काठमाडौँ, कात्तिक २३ –
गृह मन्त्रालयले तिहारमा देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयले देउसी–भैलो कार्यक्रमलाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउन सातवटा सर्त तोकेको हो।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै नेपाली मौलिक सांस्कृतिक तथा धार्मिक परम्पराको संरक्षण हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ।
मन्त्रालयले देउसी–भैलो कार्यक्रम सञ्चालनका लागि निम्न सात सर्त पालना गर्न आग्रह गरेको छ।
- मन्त्रालयले जारी गरेको सूचनाको पूर्ण रूपमा पालना गर्नुपर्नेछ।
- नेपाली मौलिक कला तथा संस्कृतिलाई प्रोत्साहन दिने र सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा परम्परागत देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्नुपर्नेछ।
- देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वैच्छिक र मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेछ। कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न पाइने छैन।
- विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, सङ्गीत तथा नारा प्रयोग गर्न पाइने छैन।
- चाडपर्व मनाउने क्रममा जुवा तथा तास खेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्न, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने व्यवस्था मिलाउनुपर्नेछ।
- अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग गर्न नहुने र अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्नेछ।
- सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न र जथाभावी फोहोरमैला नगर्ने व्यवस्था मिलाउनुपर्नेछ।
देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या परेमा तत्काल प्रहरीको हटलाइन नम्बर १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्र ९डीईओसी० को १२३४ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























