समाचार
एमालेले भन्यो ‘सरकारको बजेट गरिबमारा’

काठमाडौं, जेठ १७-
नेकपा एमालेले सरकारले ल्याएको बजेट अपरिपक्व रहेको निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बजेट निमुखा वर्गको हितमा नरहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐन महरले बताए । ‘दुईतिहाइ बहुमतको सरकारबाट रूपान्तरणकारी बजेट आउन सकेन । यसले तल्लो वर्गलाई समेट्न सकेन । बजेटका निम्ति स्रोतको पनि सुनिश्चितता भएन,’महरले भने ।
एमालेले प्रतिनिधिसभाको नियम १४० मा सत्ता पक्षले बेइमानी गर्न खोजेको भन्दै त्यसको प्रतिरोध गर्ने बताएको छ । ‘संविधान संशोधनको भावनामा असर पर्नेगरी मस्यौदा समितिमा भएको छलफल विपरीत प्रावधान अघि बढाउन खोजिएको छ । भोली नियमावली पेस गर्ने कार्यसूची छ । एमालेले त्यसको प्रतिरोध गर्छ,’उनले भने ।
एमाले संसदीय दलले मानवअधिकार आयोगले भदौ २३ र २४ का घटनामा सार्वजनिक गरेको प्रतिवेदनका विषयमा पनि समीक्षा गरेको छ ।

























