Breaking News
कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

चितवन,कात्तिक २४-
कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलीको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदै छ ।
आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा। तोयराज नेपालले बताए ।
कात्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा। डा। पुरुषोत्तम भट्टराईले बताए ।
बली, हली र गोरु पूजा
भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ । यही विश्वासका आधारमा तिहारमा देउसी खेल्नेले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो ।
वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ ।
























