देश/प्रदेश
झिरपेद्वारा लिखित ‘शेर्पा–हिमालका सच्चा साहसी’ पुस्तक सार्वजनिक

काठमाडौँ, जेठ १६-
हिमाल आरोहणमा शेर्पा समुदायले पुर्याएको योगदानमा आधारित पुस्तक ‘शेर्पा–हिमालका सच्चा साहसी’ पुस्तकको नेपाली संस्करण आज सार्वजनिक गरिएको छ । भारतीय लेखक उमेश झिरपेद्वारा लिखित पुस्तकमा शेर्पा समुदायको इतिहास र जीवनशैलीका विषयमा उल्लेख छ ।
त्यस अवसरमा पर्वतारोही एवं संविधानसभा सदस्य मिङ्मा डेभिड शेर्पाले शेर्पा समुदायले हिमाल आरोहणमा महत्त्वपूर्ण योगदान गरेर नेपाललाई विश्वभर चिनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकले हिमाल आरोहणको इतिहासमा शेर्पाहरूलाई केवल सहयोगी वा भारियाका रूपमा मात्र हेर्ने सङ्कुचित दृष्टिकोणलाई चिर्दै उनीहरूको साहस, कोमल हृदय र समाजप्रतिको निष्ठालाई उजिल्याएको छ ।”
नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले इतिहासदेखि हिमालसँग जोडिएका शेर्पा समुदायले हिमालसँगै नेपाललाई विश्वभर चिनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिमालसँग जोडिएका शेर्पा समुदायले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्दै आएका छन् ।”
नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पाले कुनै पनि समुदायको विषय संवेदनशील हुने भएकाले इतिहास र तथ्यका आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
पुस्तक लेखक झिरपेले मराठी भाषामा चार वर्ष पहिले लेखिएको पुस्तकलाई अङ्ग्रेजी र नेपाली भाषामा पनि प्रकाशन गरिएको बताउनुभयो । उहाँले शेर्पा हिमालको ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै पर्वतारोहणमा उनीहरूको योगदान सराहनीय भएको उल्लेख गर्नुभयो ।
पुस्तकका अनुवादक एवं सम्पादक पत्रकार कुम्भराज राईले हिमाल र शेर्पा एकअर्काका पर्याय भएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धन र हिमाल आरोहणमार्फत शेर्पा समुदायले नेपाललाई विश्वभर चिनाएको बताउनुभयो । पुस्तकमा हिमाल आरोहणमा अग्रणी भूमिका निर्वाह गर्ने वाङ्छु, सोनाम, लाक्पा नोर्बु, कामीरिता, माया, साङ्गे, लाक्पा फुटी, पासाङकामी, पेम्बा ग्याल्जेन, लाम्पा सोनाम, फिन्जु र पासाङ शेर्पाका बारेमा लेखिएको छ ।
यसैगरी वर्तमान युगमा शेर्पा समुदायप्रतिको वैश्विक दृष्टिकोण र पर्वतारोहण, उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक एवं वातावरणीय दृष्टिकोणबारे पुस्तकमा उल्लेख गरिएको छ । रासस
























