देश/प्रदेश

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

Banner

राँझा (बाँके), जेठ १६ –

बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३\८४ मा बजेट सिलिङ बढेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको आगामी आवको बजेटमा सिक्टा आयोजनालाई रु दुई अर्ब ५५ करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८२\८३ मा सो आयोजनालाई रु एक अर्ब ५७ करोड विनियोजन गरिएको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर मनोजकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको बजेटमा भन्दा यस वर्ष करिब रु एक अर्ब बढाएर बजेट विनियोजन भएको छ ।

सिक्टा आयोजनाअन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण धमाधम भइरहेको छ भने सिधनीया, प्रसेनीपुर र अकलघरवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । गुरुवागाउँ र अकलघरहवाका उपशाखा तथा पूर्वी मूल नहरका बाँकी कामका लागि पूर्व तयारीका कामहरू भइरहेका सूचना अधिकारी साहले बताउनुभयो ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । आव २०६२\६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९\९० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

आयोजनाको निर्माणाधिन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सूचना अधिकारी साहले जानकारी दिनुभयो । संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत रु ५२ अर्ब ८९ करोड रहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>