देश/प्रदेश
हेटौँडामा गणतन्त्र दिवस मनाइयो

मकवानपुर, जेठ १५-
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकार र स्थानीय निकायका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उहाँले सुशासन कायम गर्न दलहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले स्थानीय निकायसँग समन्वय सहकार्य गर्दै जनताको आधारभूत आवश्यकता पूरा गर्ने बताउनुभयो ।
त्यसअवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक दलहरुले आफूलाई विगतमा भएका गल्तिहरुको आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित खेलकुद, झाँकी प्रदर्शन र माध्यमिक विद्यालय स्तरीय निमन्त्रण प्रतियोगितामा पुरस्कृत हुनुभएका विभिन्न व्यक्तिहरुलाई क्रमशः पुरस्कार र प्रशंसाप्रत्र प्रदान गर्नुभएको थियो ।
चार सञ्चारकर्मी पुरस्कृत
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गणतान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका चार जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेमा मकवानपुरका कुमार अधिकारी र सुनिता विष्ट, रामेछापका युवराज श्रेष्ठ र ललितपुरका कृष्ण विष्ट हुनुहुन्छ ।
उहाँहरुलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । रासस
























