Breaking News
गान्धारीदेखि सुशीला कार्कीसम्म स्वार्थमा ढल्किएको आदर्श

विपिन पाठक–
पूर्वीय सभ्यताको विराट् काव्य महाभारत केवल युद्धको आख्यान होइन, मानव जीवनको सूक्ष्मतम तहसम्म पुग्ने दार्शनिक दस्तावेज हो। भनिन्छ यो धर्तीमा जे छ त्यो सबै महाभारतमा छ र महाभारतमा जे छैन त्यो यो धर्तीमा पनि छैन। त्यहाँका पात्रहरू समयका प्रतिनिधि होइनन्, आजका यथार्थका ऐनाहरू पनि हुन्। महाभारतकै शक्तिशाली एक पात्र गान्धारी जसको जीवन त्याग, सत्य र धर्मकै बाटोमा रहेर पनि अन्त्यमा थोरै चुकेको प्रसङ्गबाट उनको समग्र चरित्रमा धब्बा लागेको छ। समकालीन सन्दर्भमा सुशीला कार्कीसँग जोडिएको विवादलाई हेर्दा, गान्धारीको कथा कुनै पुरानो मिथक होइन, पुनः घटिरहेजस्तो अनुभूति हुन्छ।
गान्धारी गान्धार देशका राजा सुवालकी छोरी थिइन्। उनको विवाह हस्तिनापुरका दृष्टिविहीन राजा धृतराष्ट्र सँग भयो। यो विवाह केवल दुई राज्यबीचको सम्बन्ध थिएन, यो एक यस्तो मोड थियो जहाँ व्यक्तिगत जीवनले नैतिक दर्शनको रूप लिएको थियोे । श्रीमान् दृष्टिविहीन भएकै कारण उनले आजीवन आँखामा पट्टी बाँधेर बस्ने निर्णय गरिन्। त्यो निर्णयलाई सामान्य त्याग भनेर बुझ्नु पर्याप्त हुँदैन । पतिप्रतिको पूर्ण समर्पण अनि समानताको प्रतीक पनि थियो त्यो निर्णय र थियोे “म तिमी जस्तो नै बाँच्नेछु” भन्ने प्रतिज्ञा।
तर, जीवनका सबैभन्दा कठिन प्रश्नहरू त्यागका क्षणमा होइन, निर्णयका क्षणमा आउँछन्। गान्धारीका लागि त्यो क्षण त्यतिबेला आयो, जतिबेला उनका पुत्र दुर्योधन अधर्मको बाटोमा अघि बढे। उनले पटकपटक सम्झाइन् धर्मको मार्ग नछोड, द्वेष र अहंकारको परिणाम विनाश हो। जब दुर्योधनले विजयश्रीको आशीर्वाद माग्थ्यो, उनले स्पष्ट भन्थिन् “पाण्डव र कौरव मेरा लागि समान हुन्ः तिमी अधर्मको बाटो त्याग।” यो वाक्य गान्धारीको नैतिक उचाइको शिखर हो, जहाँ आमा भन्दा पनि उनी धर्मकी प्रतिनिधि बनेकी देखिन्छिन्।
तर, यहींबाट कथा मोडिन्छ। युद्धको अन्तिम घडीमा, जब सबै कुरा गुम्ने अवस्था आयो, गान्धारीको मन मातृत्वतर्फ ढल्कियो। उनले आफ्नो सम्पूर्ण तपस्या र पतिव्रताको शक्तिलाई प्रयोग गरेर दुर्योधनलाई अजेय वा (बज्र) बनाउने प्रयास गरिन्। यो प्रयास केवल आमा भएर गरिएको अन्तिम प्रयत्न थियो, तर यही क्षणले उनको दीर्घकालीन नैतिक स्थापनालाई प्रश्नमा राख्यो। जीवनभर जोगाएको सत्य, अन्त्यमा पुत्रमोहसँग सम्झौता गर्न पुगेको देखियो। यही गान्धारीको त्रासदी हो जहाँ आदर्श र आत्मीयता एकअर्कासँग ठोक्किन्छन्।
यही द्वन्द्व वर्तमान राजनीतिक सन्दर्भमा पनि प्रतिध्वनित हुन्छ। सुशीला कार्की, जसले नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशको रूपमा आफ्नो नाम लेखाइन्, सधैं निष्पक्षता, कडापन र सुधारवादी दृष्टिकोणका लागि चिनिइन्। न्यायालयभित्रको उनको छवि केवल पदको कारण होइन, निर्णयको दृढताका कारण स्थापित भएको थियो। जेनजी आन्दोलनपछिको तरल राजनीतिक अवस्थाले उनलाई कार्यकारी नेतृत्वतर्फ ल्यायो ।एक यस्तो समय, जहाँ देश नै अनिश्चितताको भुमरीमा उभिएको थियो।
प्रधानमन्त्रीको रूपमा उनको भूमिका सहज थिएन। देश रहन्छ कि रहँदैन भन्ने मनोवैज्ञानिक त्रासबीच उनले राजनीतिक संस्कारसहितको सरकारको नेतृत्व गरिन्। संक्रमणकाललाई व्यवस्थापन गर्दै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउनु केवल प्रशासनिक उपलब्धि होइन, लोकतान्त्रिक निरन्तरताको पुनर्स्थापना थियो। महिला नेतृत्वको दृष्टिले पनि यो ऐतिहासिक क्षण थियो। जसले नेतृत्वको सम्भावनालाई नयाँ आयाम दियो।
तर इतिहास फेरि त्यही प्रश्नतर्फ फर्कियो कि निर्णयको क्षणमा के रोजिन्छ ? राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा आफ्नै स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई सिफारिस गर्ने निर्णयले कार्कीको छविमा गम्भीर प्रश्न उठायो। यो निर्णय केवल नातावादको आरोपमा सीमित भएन। यसले सुशासन, पारदर्शिता र नैतिक वैधतामाथि समेत बहस जन्मायो।
प्रकृति संरक्षण जस्तो संवेदनशील क्षेत्र, जहाँ दीर्घकालीन दृष्टि, विषयगत विशेषज्ञता र सार्वजनिक उत्तरदायित्व आवश्यक हुन्छ, त्यहाँ गैर–विज्ञ व्यक्तिलाई नियुक्त गर्नु केवल प्रशासनिक निर्णय होइन।यो नीति र मूल्यको प्रश्न हो। अझ, सरकार कामचलाउ अवस्थामा हुँदा पाँच वर्षे पदमा सिफारिस गर्नुले नैतिकताको बहसलाई झन् गहिरो बनायो। कानुनी प्रावधानले अनुमति दिएको हुन सक्छ, तर सार्वजनिक पदको आधार केवल कानुनी होइन, नैतिक वैधता पनि हो।
यस सन्दर्भमा, व्यक्तिगत अनुभवले पनि प्रश्नलाई थप गहिरो बनाउँछ। चितवन राष्ट्रिय निकुञ्जको सिमानामा रहेको माडी क्षेत्रमा बसोबास गर्ने समुदायले प्रकृति संरक्षणका नाममा अनेकन पीडा भोगिरहेको छ। मानव–वन्यजन्तु द्वन्द्व, विकासका सीमितता, र राज्यको असन्तुलित प्राथमिकता। यस्तो क्षेत्रमा संरक्षणको नेतृत्व गर्ने व्यक्तिमा विषयगत समझ र संवेदनशीलता अत्यावश्यक हुन्छ। त्यसैले, नियुक्ति केवल पदपूर्ति होइन, प्रत्यक्ष रूपमा जनजीवनसँग जोडिएको निर्णय हो।
गान्धारी र कार्की यी दुई पात्रबीचको पृष्ठभूमि र जिम्मेवारी भिन्न भए पनि उनीहरूको द्वन्द्व समान छ। दुवैले आफ्नो जीवनको अधिकांश समय आदर्श, सत्य र कर्तव्यका लागि समर्पित गरेको देखिन्छ । तर, दुवैको जीवनमा एउटा क्षण आयो, जहाँ व्यक्तिगत सम्बन्ध र सार्वजनिक मूल्यबीच छनोट गर्नुपर्यो। गान्धारीले पुत्र रोजिन्, कार्कीले विश्वासपात्र।
्यो सन्दर्भ केवल व्यक्तिको आलोचना होइन। यो हाम्रो संस्थागत संरचनाको पनि परीक्षण हो। यदि नियुक्ति प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र स्पष्ट मापदण्डमा आधारित हुन्थ्यो भने, यस्तो विवादको सम्भावना कम हुन्थ्यो। त्यसैले, समस्या केवल निर्णय लिने व्यक्तिमा होइन, निर्णयलाई निर्देशित गर्ने प्रणालीमा पनि निहित छ।
अन्ततः, नेतृत्वको वास्तविक परीक्षा संकटमा देखिएको साहसले होइन, निर्णयको क्षणमा देखिएको नैतिकताले पनि निर्धारण हुन्छ। गान्धारीको कथाले हामीलाई चेतावनी दिन्छ आदर्शको यात्रामा एउटा सम्झौताले सम्पूर्ण छविलाई कमजोर बनाउन सक्छ। सुशीला कार्कीको प्रसङ्गले त्यो चेतावनीलाई समकालीन सन्दर्भमा पुनः पुष्टि गर्छ।
आजको लोकतन्त्रमा, जहाँ जनअपेक्षा उच्च छ र सूचना प्रवाह तीव्र, त्यहाँ नेतृत्वका साना निर्णयहरू पनि ठूला सन्देश बोकेर आउँछन्। त्यसैले, व्यक्तिगत विश्वास र सार्वजनिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्नु केवल नैतिक प्रश्न मात्र होइन आवश्यकता पनि हो।
इतिहासले हाम्रो उद्देश्य होइन, हाम्रो निर्णय सम्झन्छ र ती निर्णयहरूले नै हाम्रो चरित्रको वास्तविक चित्र कोर्छन्। सरकार हस्तान्तरण गर्ने अन्तिम क्षणमा आइरहँदा अझै पनि सुशीला कार्कीले आफ्नो निर्णयमा पुनर्विचार गर्लिन् रु वा उनका प्रिय स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले त्यो निर्णयलाई अस्वीकार गर्लान् ? त्यो प्रश्न भने जीवितै रहेको छ।


























