Breaking News
कृष्णभीरमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो खोजिँदै

चितवन, भदौ १५ –
पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ । त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक वन्ने अबस्था नभएसंगै बैंकल्पिक मार्गको खोजी थालिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम निरन्तर रुपमा छ । सडकको झण्डै १०० मिटर भाग भासिएको र चिरिएको छ । यससँगै पैदलयात्रासमेत रोकिएको छ । तत्काल सडक बनाउन सक्ने अवस्था छैन । विज्ञहरुले वैकल्पिक अध्ययन थालेको उहाँले बताउनुभयो ।
पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले सडक तत्काल बनाउन सक्ने अबस्था नभएपछि वैकल्पिक मार्गको खोजी थालिएको बताउनुभयो । उहाँका अनुसार कटानका कारण सडकको भित्तोसमेत चर्किएको छ । खोलाले सडकको फेद कटान गरिरहेको उहाँले बताउनुभयो । इञ्जिनियर अधिकारीले भन्नुभयो, “खोलाले कटान गरिरहेको छ । कति झर्छ एकीन भन्न सकिने अवस्था छैन ।” सडकको भित्तो माथिको डाँडाको अबस्था हेर्ने काम भइरहेको बताउँदै उहाँले विषय विज्ञले विस्तृत अध्ययन गरेर कसरी काम गर्ने भन्ने टुङ्गो लाग्ने उहाँ बताउनुहुन्छ ।
माथि डाँडामा बस्तीसमेत रहेको भन्दै उहाँले भित्तो काट्न पनि सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भित्तो काट्न मिल्दैन । माथितिर बस्ती छ । अहिले हामी तत्काल चलाउन सक्दैनौँ ।” सडक तत्काल वनाउन नसकिने भएपछि धादिङको बेनीघाट–आरुघाट–गोरखा, गल्छी–धादिङ्को सुनौलो बजार–धादिङ्वेसी–सल्यानटार–गोरखा हुँदै आउनेसहितका अन्य सडकको अध्ययन भइरहेको उहाँले बताउनुभयो ।
पृथ्वी राजमार्गबाट पारी तरेर त्यहाँको राम्रो बाटो प्रयोग गरी गन्तव्यतर्फ जान सकिने बाटोको खोजी भइरहेको हो । तत्काल मर्मत सम्भार गरेर चलाउन सकिने सडकलाई खोजी गरी तत्काल सञ्चालनमा ल्याउन लागिएको उहाँ बताउनुहुन्छ ।
पूर्वबाट आएका सवारीसाधन मकवानपुरका बाटो प्रयोग गर्न सक्ने छन् भने पश्चिम र पोखरातर्फका सवारीसाधनलाई गोरखा तिरबाट वैकल्पिक बाटो खोजी गरिएको हो । यो सडक राजधानीका लागि लाइफ लाइन सडक हो । राजधानीमा ग्यासका बुलेट लगायतका ठूला गाडीसमेत लैजानुपर्ने हुन्छ । यस सडकमा दैनिक १४ हजार हाराहारी सवारी गुड्ने गर्दछन् । केही वर्ष अघिसम्म निकै दुःख दिएको कृष्णभीरको मर्मत सम्भार र पहिरो रोकथामका काम गरेपछि पछिल्ला वर्षहरुमा समस्या भएको थिएन । रासस



























