Breaking News
विपद्मा सरकार खोज्नुपर्ने अवस्था आयो, कहिले काहीँ हेलिकप्टरमा उडेको देखिन्छः ओली

काठमाडौँ, भदौ १५-
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रुपमा गर्न नसकेको आरोप लगाउनुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमाले नेकपा एमाले राजधानी प्रदेश कमिटीबाट बाढी पीडितलाई हस्तान्तरण गरिएको दश लाखको चेक ग्रहण गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले रास्वपा सांसद र मन्त्रीहरुलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने टिप्पणी पनि गर्नुभयो । उहाँले विपद्पछि केन्द्रिय सरकारलाई खोज्नुपर्ने अवस्था रहेको टिप्पणी समेत गर्नुभयो ।
उहाँले निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि समेत जनाउनु भयो । उहाँले उद्धारका लागि तालिम प्राप्त जनशक्ति र हेलिकप्टर भएका निजी क्षेत्रलाई परिचालन गर्न दिए थप प्रभावकारी उद्धार हुनसक्ने भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको बताउनु भयो । अध्यक्ष ओलीले सुरुङमुनि तथा अन्य जोखिमयुक्त क्षेत्रमा हेलिकप्टरबाट मात्र उद्धार सम्भव नहुने बताउनु भयो । उहाँले पीडितलाई आफन्तको खोजी गर्नसमेत सरकारले नदिएको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘ कोही जान्छन् नागरिकलाई हप्कीदप्की गरेर फर्किन्छन्, बडप्पन देखाउँछन् । कोही जान्छन् आधारहीन निर्देशन दिएर फर्किन्छन् । कोही समस्यामाथि समस्या थपेर फर्किन्छन् । हामी समस्यामा मलमपट्टी लगाउन खोजिरहेका छौँ । यतिखेर पनि हाम्रो पार्टीका नेता कार्यकर्ताहरू, स्थानीय र प्रदेशका जनप्रतिनिधिहरु समेत स्थलमै खटिएर काम गरिरहनुभएको छ । यस्तो अवस्थामा सरकार कहाँ छ खोज्नुपर्छ । केन्द्रीय सरकार चाहीँ कहाँ छ रु कहिले कहिले हेलिकप्टरमा उडेको देखिन्छ । घरको छतमा कोही छ भने त्यसलाई बाढी गइसक्यो, घरको छतमा घर टिक्या छ, घरको छतमा मान्छे छ भने निकालेको देखिन्छ । यस्तै यस्तै काम गएको देखिन्छ । तैपनि धन्यावाद केही त गरेको छ । निजी क्षेत्रलाई हेलिकप्टर चलाउन दिएको छैन । निजी हेलिकप्टर पनि जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न उत्सुकहरू छन् । उद्धारका निम्ति ट्रेनिङ लिएका मान्छेहरू छन् । त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे, तर प्रतिबन्ध लगाएर हेलिकप्टर रोक्दिएको छ । अब रेस्क्यु कहाँ कहाँनेरी गर्नुहुन्छ रु सुरुङमुनिको रेस्क्यु त हेलिकप्टरबाट गर्दैन । त्यहाँ मान्छे रोकेर राखेको बल्ल खोल्या छ । स्थानीयले हामीलाई कमसेकम आफन्तहरू खोज्न देऊ न भनिरहेका छन् । सरकारले दिएको छैन । यस्तो अवस्थामा पनि हामीले काम गरिरहेका छौँ ।’
उहाँले एमालेका नेता तथा कार्यकर्ता तथा स्थानीय र प्रदेशका जनप्रतिनिधि प्रभावित क्षेत्रमा काम गरिरहेको दाबी समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल


























