चितवन विशेष
चितवनमा पहिचान नखुलेका २८० शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन, भदौ १५–
रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका २८० वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको सोमबार रातिसम्म व्यवस्थापन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३२१ शवमध्ये २८० वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए संकलन गरेर शनिबारदेखि जंगलमा लगेर खाडलमुनी गाड्न थालिएको हो । प्रहरीले शनिबार ९६ वटा शवको व्यवस्थापन गरेको थियो । दोस्रो दिन आइतबार एक सय तीन र सोमबार ८१ वटा शव खाडल खनेर जमिनमुनी राखिएको छ । जमिन मुनी व्यवस्थापन गरिएका मध्ये लिङ्ग पहिचान नभएका एक सय एक वटा शव रहेका छन् । त्यस्तै पुरुष एक सय तीन र महिला ६४, बालिका छ र बालक छ जना रहेको प्रहरीले जानकारी दिएको छ ।
शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख पौडेलले बताए । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । केही शव आफन्तले पहिचान गरेपनि गाडिसकेका कारण शवहरु लान पाएका छैनन । कति आफन्तले शव पहिचान गरेपनि लान नपाएको गुनासो गरेका छन् । ‘हाम्रो शव हामीले पहिचान गरेका छौँ ।’ कोहलपुरबाट आएका दिप्रका थारुले भने ‘शव गाडिएका कारण डिएनए परीक्षण नगरी हामीले लैजान पाएका छैनौँ ।’ अन्य शवका आफन्तहरु पनि शव नलिइ फर्किएका छन् ।
डिएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी संकेत चिह्न राखेर शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले जानकारी दिए । ‘हामीले शवलाई अन्त्यष्टि गरेका होइनौँ, व्यवस्थापन गरेका हौँ,’ उनले भने ‘मृतकको डिएनए नमुना संकलन गरेर राखेका छौँ । डिएनए परीक्षण गरेर आफन्तले पछि लान सक्नुहुन्छ।’ चितवनमा धेरै शव भएकाले व्यवस्थापन गर्न कठिन भएपछि कानुन अनुसार जमिनमुनी व्यस्थापन गरिएको उनले बताए ।
नदी किनारमा शव फेला पर्ने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ । सोमबार मात्रै चितवनमा ४९ वटा शव फेला परेका छन् । अहिलेसम्म हालसम्म ३२१ वटा शव फेला परेका छन् । त्यसमध्ये पहिचान नखुलेका एक सय २६, पुरुष एक सय १६, महिला ६६, बालक सात र छ बालिकाको शव फेला परेको छ ।
जमिन मुनि गाडेर शव व्यवस्थापन गर्न थालेपछि चितवनमा निर्माण गरिएको अस्थायी शव संकलन केन्द्र बन्द गरिएको उनले जानकारी दिए । ‘हामीले निर्माण गरेको अस्थायी शव संकलन केन्द्र आजबाट बन्द गरेका छौँ,’ उनले भने ‘अब भेटिएका शवहरु डिएनए संकलन गरेर जमिन मुनि नै व्यवस्थापन गछौँ।’


























