देश/प्रदेश
तिहारमा माटोका पालाको माग बढ्यो, माटो पाउनै मुस्किल

भक्तपुर ,कात्तिक २० –
तिहार नजिकिएसँगै माटोका दियो (पाला) बनाउने र बिक्री गर्ने व्यवसायीलाई भ्याइनभ्याइ छ । लक्ष्मीपूजामा माटोको पाला बाल्ने परम्पराका कारण यस वर्ष पालाको माग बढेको व्यवसायी बताउँछन्। तर, पाला बनाउन आवश्यक माटो सहज रूपमा नपाउँदा मागअनुसार उत्पादन गर्न समस्या भइरहेको उनीहरूको गुनासो छ।
माटोका पाला बनाउँदै आएका रमण बुद्धिराम प्रजापतीका अनुसार यस वर्ष व्यापार पोहोरकै हाराहारीमा छ । तर, उत्पादन लागत बढ्दै जाँदा बिक्रीबाट प्राप्त हुने मूल्यले खर्च धान्न कठिन भएको छ ।
उनले अहिले एक दर्जन पालाको मूल्य ४० रुपैयाँ रहेको बताए । पहिले आफैँ माटो खोजेर ल्याउने गरे पनि अहिले माटो किन्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । माटो लिन कहिले गोकर्ण त कहिले अन्य ठाउँ पुग्नुपर्ने भएकाले गाडी भाडासमेत थपिएको उनले बताए।
‘पहिले त माटो किन्नुपर्ने थिएन, आफैँ लिएर आउँथ्यौँ। अहिले सबै माटो किन्नुप¥यो। लिने ठाउँ पनि छैन। कहिले गोकर्ण, कहिले अन्यन्त्रबाट माटो लिएर आउनुपर्छ,’ उनले भने।
उनका अनुसार सानो पाला बनाउन करिब एक मिनेट समय लाग्छ भने ठूलो पाला बनाउन दुईदेखि तीन मिनेटसम्म लाग्छ । लागत बढेपनि मूल्यअनुसारको आम्दानी नहुने गरेको उनले बताए।
‘ठिकठिकै छ, राम्रो त के भनौँ, यसको मूल्य नै पुगेन। तैपनि पेसा त गर्नैपर्यो ,’उनले भने।
माटोका पाला बनाउँदै आएका रोशन प्रजापतीले भने यस वर्ष माग बढेको बताए। करिब ३०–३५ वर्षदेखि यो पेसामा संलग्न उनी यस वर्ष पोहोरको तुलनामा बढी पाला बजारमा गएको बताउँछन्।
‘गत बर्ष तीन लाख जति पाला पठाएका थियौं, यसपालि पाँच लाख जति गयो,’ उनले भने।
उनका अनुसार तिहार आउनुभन्दा ६–७ महिनाअघि नै पालाको उत्पादनको तयारी गर्नुपर्छ। अहिले अधिकांश पाला बजारमा पठाइसकिएको छ । मागअनुसार उत्पादन गर्न माटोको अभाव मुख्य चुनौती बनेको उनले बताए।
‘माटो लिनलाई १५–१६ दिन अगाडिदेखि नै भन्नुपर्छ,’ उनले भने। उनका अनुसार पालाको थोक मूल्य प्रतिगोटा दुई रुपैयाँ छ। पसल सञ्चालकले त्यसमा आफ्नो नाफा जोडेर बिक्री गर्ने गरेका छन्।
पछिल्लो समय झिलिमिली बत्तीको प्रयोग बढेपनि माटोका पालाको प्रयोग पूर्ण रूपमा घटिनसकेको उनको भनाइ छ । ‘पहिले पहिले चार–पाँच वर्ष अगाडि अलि असर गरेको थियो, अहिले त्यस्तो खासै असर गरेको छैन। माटोको पालामा बत्ती बाल्दा लक्ष्मी खुसी हुन्छिन भनेर सबैले थाहा पाएका छन्,’ उनले भने। माटो सहज रूपमा उपलब्ध भए मागअनुसार अझ धेरै पाला बनाउन सकिने उनको भनाइ छ।
माटोका दियो तथा अन्य सामग्री बिक्री गर्दै आएकी विष्णुलक्ष्मी प्रजापतीले पनि तिहारमा एकमुखे, चारमुखे पाला, पानसलगायत सामग्रीको बिक्री हुने बताइन्। उनका अनुसार साना पालाको खुद्रा मूल्य प्रतिदर्जन ३५ देखि ४० रुपैयाँसम्म छ। थोकमा भने साना पालाको मूल्य प्रतिगोटा करिब दुई रुपैयाँ ५० पैसा पर्ने उनले बताइन्।
उनले पनि माटोको अभावलाई मुख्य समस्याका रूपमा औँल्याइन्। ‘पहिले माटो किन्नुपर्दैनथ्यो, हामी आफैँ लिन जान्थ्यौँ। अहिले माटो किलोको हिसाबले किन्नुप¥यो। माटोको चाहिँ समस्या छ,’ उनले भनिन्।
झिलिमिली बत्तीको बढ्दो प्रयोगले माटोका पालाको बिक्रीमा असर परेको उनको अनुभव छ । ‘पहिला त्यस्तो थिएन, अहिले सबै झिलिमिली बत्तीले गर्दा पाला कम बिक्री हुने गरेको छ,’ उनले भनिन्।
परम्परागत रूपमा माटोका दियो अर्थात पाला बनाउने र बिक्री गर्ने व्यवसायीका लागि तिहार मुख्य व्यापारिक समय हो । तर, कच्चा पदार्थको अभाव, बढ्दो लागत र झिलिमिली बत्तीको प्रयोगले उनीहरूको व्यवसायमा चुनौती थपिएको छ । व्यवसायीहरू माटो सहज रूपमा उपलब्ध हुने व्यवस्था भए परम्परागत पेसालाई निरन्तरता दिन र बजारको मागअनुसार उत्पादन बढाउन सकिने बताउँछन्।
























