Breaking News
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन टर्कीए जाँदै

काठमाडौँ, कात्तिक २०-
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि(युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप(३१०मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्कीए प्रस्थान गर्नुहुने भएको छ ।
टर्कीएको आन्ताल्यामा यही नोभेम्बर ९ देखि २० तारिखसम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ तारिखमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । त्यसैगरी उहाँले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमालयसम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनुहुनेछ ।
यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टहरूमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सञ्जय आचार्य, कृषि मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रसहित नौ जना अधिकारीहरू सरकारी टोलीमा सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ तारिखमा स्वदेश फर्कने कार्यक्रम छ ।
























