Breaking News

चितवनमा वर्षे धानको उत्पादन ८ प्रतिशतले वृद्धि, किसान उत्साहित

०
Banner

चितवन, कार्तिक २०–

भरतपुर–७ का शक्तिप्रसाद सापकोटा १४ कठ्ठा खेतीयोग्य जमिनमा निरन्तर धानखेती गर्दै आइरहेका छन् । विगतमा यहीँ खेतबाट वर्षे धान ९ क्विन्टलसम्म उत्पादन हुन्थ्यो । अहिले भने उनको उत्पादन बढ्दै गएको छ । अहिले यहीँ १४ कठ्ठा खेतबाट उनले २६ क्विन्टल २५ किलोग्रामसम्म वर्षे धान उत्पादन गर्न सफल भए । ‘चितवनमा खेती गर्न थालेदेखि नै मेरो १४ कठ्ठा जमिन हो, पहिले ९ क्विन्टलसम्म धान उत्पादन भयो’ सापकोटाले सुनाए ‘अहिले मल, बिउ र सिँचाईको सुविधा भएर होला यसपटक २६ क्विन्टल धान उत्पादन भएकोमा खुशी छु ।’

सापकोटाले गतवर्ष अनुदानमा डिप बोरिङ प्राप्त गरेपछि सिँचाईमा सहजता हुँदा उत्पादन बढेको बताउँछन् । तर उत्पादन बढेपनि आम्दानी भने धेरै गर्न नसकिएको उनको गुनासो छ । ‘विगतको तुलनतामा उत्पादन त बढ्यो तर धानखेतीको बेला ट्याक्टर, खेताला लगाउँदा खासै नाफा भएको छैन, सकुन्जेल आफै गरे अहिले आफै खेतमा काम गर्न सक्ने अवस्था पनि छैन’–सापकोटाले भने ।

उनी जस्तै भरतपुरका धेरै किसानले यसपटक उत्पादन बढाएका छन् । समग्रमा यसपटक चितवनमै वर्षे धान उत्पादनमा समेत वृद्धि भएको छ । कृषि विकास कार्यालयका अनुसार यसवर्ष वर्षे धान औषत उत्पादकत्व प्रतिहेक्टर ५.४ मेट्रिक टन रहेको छ । चालु आर्थिक वर्षमा कुल एक लाख ४७ हजार २५२ मेट्रिक टन धान उत्पादन भएको छ । गतवर्ष एक लाख ३५ हजार ७२५ मेट्रिक टन धान उत्पादन भएकोमा औषत उत्पादकत्व ४.९ मेट्रिक टन मात्रै थियो । ‘यसवर्ष गतवर्षको तुलनामा ८ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । पछिल्लो वर्षहरुमा चितवनमा धान उत्पादन बढ्ने क्रममा देखिएको छ’–कृषि विकास कार्यालय चितवनका कृषि अर्थ विज्ञ निर्मल पौडेलले भने ।

धान उत्पादनको तथ्यांक निकाल्न किसानले धान काट्ने बेला कृषि कार्यालयले धान बाली कटानी विश्लेषण माध्यमबाट नमुना संकलन गरेको थियो । जिल्लाका ७ मध्ये इच्छाकामना गाउँपालिका बाहेक ६ वटा स्थानीय तहको ४० स्थानमा पुगेर बाली कटानी विश्लेषणको माध्यमबाट संकलन गरिएको नमुनाको विश्लेषण गरी कार्यालयले यो तथ्यांक निकालेको हो । भरतपुर, रत्ननगर, माडी, खैरहनी, कालिका र राप्ती नगरपालिकाका किसानहरुको गंगोत्री, गोरखनाथ, हर्दिनाथ–५ र ६, काशिनाथ, ताइचुङ, मुक्कावला, सावा मन्सुली, सावा सव १, राम जातको धानबाट नमुना संकलन गरिएको थियो ।

‘किसानको खेतमै पुगेर जातिय हिसाबले विभिन्न जात, सिंचित र असिंचित क्षेत्र, घोल र टार क्षेत्र सबैलाई समेट्ने गरि ५ मिटर लम्बाई र २ मिटरको फ्रेम बनाई १० वर्ग मिटर क्षेत्रको बाली कटानी गरि चिस्यान र तौलको आधारमा तथ्यांक निकालिन्छ । संसारभर नै यही माध्यमबाट धान उत्पादनको तथ्यांक निकाल्ने गरिन्छ’–पौडेलले भने ।

धान उत्पादनको महत्वपूर्ण जिल्ला मध्येको एक हो चितवन । यहाँ तीन बाली नै धान उत्पादन हुन्छ । चितवनमा सबै भन्दा धेरै वर्षे धान उत्पादन हुँदै आइरहेको छ । ‘चितवनको महत्वपूर्ण बाली मध्ये एक धानबाली रहेकाले यसको विशेष रुपमा उत्पादकत्व अनुमान गरेर आगामि योजना बनाउने र किसानलाई सहजीकरण गर्ने काम गर्दै आइरहेका छौं’–कृषि अर्थ विज्ञ पौडेलले भने ।
धानको उत्पादकत्व बढेसंगै किसानहरु पनि खुशी छन् । अझ समयमै मल, बिउ र पूर्ण रुपमा सिँचाईको प्रवन्ध भए अझै धान उत्पादन वृद्धि हुने किसान बताउँछन् ।

चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ९ हजार ७७० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाईएको थियो भने सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा १९४ हेक्टर क्षेत्रफलमा धान लगाईएको थियो । कुल २७ हजार २६८ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाईएकोमा अधिकांश ठाउँका किसानले धान भित्र्याईसकेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>