समाचार
संगठित सदस्यतामै प्रश्न उठाइएकोमा विद्याको आपत्ति

काठमाडौं, भदौ ५-
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमाथि पार्टीको संगठित सदस्यतामै प्रश्न उठाइएको भन्दै आपत्ति जनाएकी छन् । त्यसक्रममा उनले कुनै नेताको नाम उच्चारण गरिनन् । नेकपा (एमाले)को केन्द्रीय कार्यालय रहेको स्थान च्यासलले आफ्नो सदस्यतामै प्रश्न उठाएको भन्दै उनले असन्तुष्टि जनाइन् ।
बिहीबार काठमाडौंमा मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन गठित समितिको सम्पर्क कार्यालय उद्घाटनक्रममा उनले आफूलाई पार्टीले नै राष्ट्रपतिमा अघि बढाएको दोहोर्याइन् । राष्ट्रपति हुँदा देशको गौरव बढ्ने गरी काम गरेको उनले उल्लेख गरिन् ।
“पार्टीले पठाएर राष्ट्रपति बन्न गएको हो,” उनले भनिन्, “राष्ट्रपति हुँदा राष्ट्रको गौरव बढ्ने गरी काम गरेको छु ।”
उनले आफू आलोचनाभन्दा बाहिर नरहेको स्पष्ट पारिन् । तर, आलोचना तथ्यका आधारमा गरिनुपर्नेमा उनले जोड दिइन् । “म आलोचनाभन्दा बाहिर छैन,” उनले भनिन्, “तर, हरेक कुरा तथ्यको आधारमा गर्नुपर्छ ।”
एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले आफूले पार्टीको सिद्धान्त धारण गरेको र त्यहीअनुसार काम गर्ने बताइन् । “पार्टीले जिम्मेवारी देओस् कि नदेओेस् मतलब छैन,” उनले भनिन्, “सिद्धान्त धारण गरेको छु, त्यहीअनुसार काम गर्ने हो ।”

























