समाचार
इरानमा रहेका नेपालीको उद्धार गरिँदै

काठमाडौँ, असार ७-
इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राससलाई बताउनुभयो ।
इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उहाँले त्यसप्रति भारत सकारात्मक रहेको बताउनुभयो । परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो, “इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ ।”
सरकारको निर्देशन अनुसार भारतका लागि नेपालका राजदूत डा शङ्कर शर्मा पनि इरानमा रहेका नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा हुनुहुन्छ । तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैैछ । यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

























