नवलपुर

नवलपुरको एक हजार एक सय हेक्टर क्षेत्रफलमा चैतेधान खेती

Banner

नवलपुर (नवलपरासी), जेठ २७-

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का फाँटहरु चैतेधान झुलेर पहेँलै भएका छन् । हिउँदे धानको रुपमा फागुनमा लगाइएको धान अहिले काट्ने तयारीमा किसान रहेका छन् ।

कृषि ज्ञान केन्द्र नवलपुरकाअनुसार जिल्लामा यसवर्ष करिब एक हजार एक सय हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको छ । कार्यालयका सूचना अधिकारी विश्वास काफ्लेले विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको बताउनुभयो । चैतेधान थन्काएपछि असारमा फेरि बर्खेधान रोप्नुपर्ने भएकाले किसानहरु धानको बिउ राख्नसमेत व्यस्त भएका उहाँको भनाइ छ ।

चैतेधान प्रति हेक्टर चार टनसम्म उत्पादन हुने भएकाले किसानहरुको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ । दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैतेधान खेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रले चैतेधान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । चैतेधानमा रोग तथा कीरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिएको भन्दै काफ्लेले जिल्लामा विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातको चैतेधान रोप्ने गरिएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>